Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योगी दुलालको भावुक अपिल :

‘प्रतिशोध होइन, पुनर्निर्माण र विकासको बाटो रोजौं’

उद्‌घोष संवाददाता
४ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । मोरङको सुन्दरहरैंचास्थित होटल नेपालिरिकाका सञ्चालक तथा उद्योगी भोलेश्वर दुलालले होटलमा भएको आगजनी, तोडफोड र लुटपाटको घटनापछि पहिलोपटक विस्तृत सार्वजनिक धारणा व्यक्त गर्दै उद्योग, लगानी, सामाजिक सद्भाव र शान्तिको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन् । 

उनले घटनामा संलग्न सबैलाई ‘आममाफी’ दिएको घोषणा गर्दै अब प्रतिशोध होइन, पुनर्निर्माण र विकासको बाटो रोज्नुपर्ने बताएका छन् ।

‘मेरो कर्मभूमि, मेरो विश्वास र मेरो सुन्दरहरैंचा’ शीर्षकमा सार्वजनिक सन्देशमार्फत उनले २०४९ सालको भदौ महिनामा उर्लाबारीबाट तत्कालीन इन्द्रपुर गाउँ विकास समिति (हाल सुन्दरहरैंचा नगरपालिका) को विराटचोकमा आएर सानो व्यापारबाट व्यवसायिक यात्रा सुरु गरेको स्मरण गरेका छन् ।

उनले इमान्दारिता, मेहनत र समाजप्रतिको जिम्मेवारीलाई आधार बनाएर सत्कार मेसिनरीबाट सुरु भएको यात्रा होटल नेपालिरिका, पूर्वाञ्चल ल्युब आयल लिमिटेड, ब्राइट फयुचर स्कुल, आरएमसी, श्रीओम अटो ल्युब, पूर्वाञ्चल पोलिमरलगायत विभिन्न उद्योग तथा संस्थासम्म विस्तार भएको उल्लेख गरेका छन् । 

ती संस्थामार्फत प्रत्यक्ष रूपमा करिब १ हजार ५०० जनालाई रोजगारी उपलब्ध गराइएको र अप्रत्यक्ष रूपमा हजारौं परिवारको जीविकोपार्जनसंग जोडिएको उनले बताएका छन् ।

उनले व्यवसायको उद्देश्य केवल नाफा कमाउनु मात्र नभइ समाजप्रति उत्तरदायी हुनु पनि रहेको उल्लेख गर्दै समाजका विभिन्न सामाजिक तथा व्यवसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका छन् । 

व्यवसायको सफलता बैंक खाताको रकमले होइन, समाजले दिएको विश्वासले मापन हुन्छ, उनले सन्देशमा उल्लेख गरेका छन् ।

२२ करोडभन्दा बढीको क्षति

उनले २०८२ साल भदौ २४ गते होटल नेपालिरिकामा भएको आगजनी, तोडफोड र लुटपाटको घटनालाई आप्mनो जीवनकै सबैभन्दा पीडादायी क्षणका रूपमा चित्रण गरेका छन् । 

उक्त घटनाबाट होटलमा २२ करोड १३ लाख ७० हजार ४२१ बराबरको क्षति पुगेको उनले बताएका छन् ।

बीमा प्रक्रियापछि  १४ करोड ८५ लाख बीमा दाबीबापत प्राप्त भए पनि होटल चार महिनासम्म बन्द रहदा पुनर्निर्माण, कर्मचारीको तलब–सुविधा, विद्युत्, सञ्चालन तथा प्रशासनिक खर्च कम्पनीले आफनै स्रोतबाट व्यहोर्नुपरेको र त्यसबाट थप करिब ११ करोड बराबरको आर्थिक भार परेको उनको भनाइ छ ।

भवन जल्यो, विश्वास जलेन

यति ठूलो क्षतिपछि पनि आफूहरू निराश नभएको उल्लेख गर्दै उनले चार महिनामै होटल पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएका छन् । ‘पीडाले रोक्ने छैन । हाम्रो उत्तर प्रतिशोध होइन, पुनर्निर्माण हुनेछ । कसैले भवन जलाउन सक्छ, तर विश्वास जलाउन सक्दैन’ भन्ने भाव उनले सार्वजनिक सन्देशमार्फत व्यक्त गरेका छन् ।

उद्योग र लगानीको सुरक्षा आवश्यक

उद्योगीले एउटा व्यवसाय बन्द हुँदा त्यसका सञ्चालक मात्र नभई कर्मचारी, उनीहरूका परिवार, स्थानीय अर्थतन्त्र र समग्र समाज प्रभावित हुने उल्लेख गरेका छन् । 

उद्योग, व्यवसाय र लगानीको संरक्षणलाई राष्ट्र विकासको आधार मान्दै निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सबै नागरिकको साझा जिम्मेवारी भएको उनको भनाइ छ ।

उनले हिंसा, आक्रमण, अराजकता र अमानवीय गतिविधिले सभ्य समाजको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गर्दै यस्ता घटनाले देशको लगानी वातावरण र अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पर्ने बताएका छन् ।

आगजनीमा संलग्न सबैलाई आममाफी

सन्देशको अन्त्यमा उनले होटल नेपालिरिका आगजनी घटनामा जानी–नजानी संलग्न भएका, आवेग वा गलत प्रभावमा परेका सबैलाई आजदेखि ’आममाफी’ दिएको घोषणा गरेका छन् ।

भविष्यमा सुन्दरहरैंचा मात्र होइन, नेपालभर कुनै पनि उद्योगी, व्यवसायी, नागरिक वा विदेशी पाहुनाले यस्ता पीडादायी घटना भोग्न नपरोस् भन्ने कामना गर्दै उनले सबैलाई शान्ति, सद्भाव, विवेक र विकासको पक्षमा उभिन आग्रह गरेका छन् ।

संघर्षले हामीलाई थकाएको छैन, अझ जिम्मेवार बनाएको छ । सपना ढल्न सक्छ, तर सपना देख्ने साहस कहिल्यै ढल्दैन भन्ने सन्देशसहित उनले सुन्दरहरैंचाको समृद्धि र सुरक्षित लगानी वातावरण निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन् ।

View : 512

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved