Biratnagar, Morang, Nepal
१२ भदौ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

भोटेकोशी बाढीपीडितका लागि उद्योग संगठन मोरङद्वारा १५ लाख सहयोग

उद्‌घोष संवाददाता
११ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति उद्योग संगठन मोरङले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रका लागि राहत स्वरुप १५ लाख रुपैयाँ सहयोग गरेको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित नागरिकको सुरक्षित जीवनको कामनासमेत गरेका छन् ।

निजी क्षेत्र आर्थिक गतिविधिको संवाहक मात्र नभई समाजकै अभिन्न अंग भएकाले राष्ट्रले भोगेको पीडामा निजी क्षेत्र पनि सहभागी हुनुपर्ने बताउँदै राठीले मानवीय सहयोगस्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराइएको अध्यक्ष राठीले बताए ।

संगठनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

विपत्तिपछि दिनरात अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्था, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै प्रभावित नागरिकको जीवनमा पुनः आशा र मुस्कान फर्काउन सम्पूर्ण नेपाली एकजुट भएर सहयोग गर्नुपर्नेमा संगठनले आग्रह गरेको छ ।

संगठनले आफ्ना सदस्य उद्योग तथा प्रतिष्ठानहरूलाई समेत विपत्तिको यस घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सरकारको उद्धार तथा राहत अभियानमा सहयोग गर्न आह्वान गरेको छ ।

View : 216

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved