Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगरमा कार्गो रेलबाट कन्टेनर ‘अनलोडिङ’, ३० प्रतिशतले लागत घट्ने उद्योगी व्यवसायीको दाबी

उद्‌घोष संवाददाता
६ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगर भन्सार कार्यालयको एकीकृत जाँच चौकी (आईसीपी) मा व्यवसायिक रुपमा पहिलो पटक रेलमार्फत तेस्रो मुलुकबाट आएका ४० कार्गो कन्टेनर औपचारिक रुपमा ‘अनलोडिङ’ हुँदा निजी क्षेत्र उत्साहित देखिएको छ ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी–व्यवसायीले कोलकाता र विशाखापटनम बन्दरगाहाबाट सडक यातायातमार्फत कन्टेनर ल्याउनु पर्दाको लागतमा कम्तिमा पनि अब ३० प्रतिशत राहत हुने विश्वास गरेका छन् । लागत घट्ने विश्वासले नै उनीहरू उत्साहित बनेका हुन् । 

कलकत्ता बन्दरगाहबाट रेलमार्फत ल्याइएका कन्टेनर सोमबार विराटनगर भन्सार यार्डमा आइपुगेका थिए । ती कन्टेनर मंगलबार औपचारिक रुपमा अनलोड गरी भन्सार जाँचपास गरेर ट्रकमार्फत सम्बन्धित उद्योगतर्फ पठाउने प्रक्रिया आरम्भ भएको हो । यो क्षणलाई पूर्वी नेपालको व्यापारका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरूले बताएका छन् ।

उनीहरूले यसरी कार्गो रेलबाट सिधै विराटनगर भन्सार यार्डमा कन्टेनर अनलोड हुने अवस्थाले ढुवानी लागत घट्ने मात्रै नभई सामान सुरक्षित रूपमा आइपुग्ने र विराटनगरका उद्योगहरूले अब वीरगञ्ज र भैरहवाका उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले यसअघि सडकमार्फत ढुवानी गर्दा हुने चुहावट, चोरी तथा अतिरिक्त खर्चको समस्या अब अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार कलकत्ता बन्दरगाहबाट रेलमार्फत सिधै विराटनगरसम्म सामान ल्याउँदा ढुवानी लागत कम्तिमा ३० प्रतिशतले घट्ने दाबी गरे । 

‘यसको प्रभाव बजारमा विस्तारै देखिन्छ तर सवैभन्दा मुख्य कुरा अब विराटनगरका उद्योगहरूले वीरगञ्ज र भैरहवासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था बनेको छ’ उनले भने, सरकारले पनि खाद मल र चिनी जस्ता अत्यावश्यक वस्तु ठुलो परिणाममा सिधै विराटनगर ल्याउन सक्ने अवस्था बनेको छ, निजी क्षेत्रले मात्रै नभई सरकारले पनि लाभ लिने भएको छ ।’

साथै, नेपालमा उत्पादन भएको सिमेन्ट, गार्मेन्टलगायतका वस्तु पनि निर्यात गर्न सहज हुने उनले बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले कार्गो रेल सञ्चालनसँगै लोडअनलोडको शुल्कसम्बन्धी विषयलाई सवै बीचको छलफलबाट टुंगो लगाइने बताए । त्यसबारे यार्डमा लोड–अनलोड शुल्कका विषयमा निजी क्षेत्र र सम्बन्धित पक्षबीच छलफल भइरहेको जानकारी दिंदै उनले त्यसलाई छिट्टै समाधान गरी सेवालाई निरन्तरता दिनुपर्ने बताए ।

राठीले पनि विराटनगरका उद्योगहरू लामो समयदेखि वीरगञ्जको तुलनामा उच्च ढुवानी लागतका कारण प्रतिस्पर्धामा कमजोर रहेको स्वीकार गर्दै अब नयाँ यात्रा सुरु भएको बताए । 

‘अब उद्योगीलाई राहत मिल्छ र त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुग्छ’ अध्यक्ष राठीले भने, ‘कार्गो रेल सेवा नियमित सञ्चालन हुनुपर्नेमा हाम्रो जोड छ, नियमित भएमात्रै उद्योगी–व्यवसायीलाई ३० देखि ४० प्रतिशतसम्म लागत बचत हुनेछ ।’

कन्टेनर अनलोडिङ सुरु गर्नुअघि विराटनगर भन्सार कार्यालयमा आयोजित छलफलमा नेपाल र भारतका विभिन्न निकायका प्रतिनिधिहरूले दुई देशीय व्यापारमा आजको दिनको ठुलो महत्व रहेको बताएका थिए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले यो व्यवस्थालाई पूर्वी नेपालको व्यापारका लागि ठूलो उपलब्धि भएको बताए । उनका अनुसार समुद्री जहाजबाट आएको कन्टेनर अब सिधै विराटनगरसम्म आइपुग्ने अवस्था बन्नु सामान्य नरहेको बताए । यसले वस्तु आयात प्रक्रियामा प्रविधि र सुविधा दुवैको सहजता भएको बताए ।

अहिले नेपालमा कुनै पनि औद्योगिक कच्चा पदार्थ तथा मालवस्तु ल्याउनका लागि भारतीय पक्षबाट अवरोध नरहेको उल्लेख गर्दै निजी क्षेत्रले निर्वाध रूपमा आयात–निर्यात गर्न सक्ने वातावरण बनेको बताए । यसका लागि भारतको समेत पूर्ण सहयोग रहेको बताए ।

View : 24

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved