Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पक्राउ परेका सांसद अधिकारीलाई एमाले संसदीय दलले माग्यो २४ घण्टे स्पष्टिकरण

उद्‌घोष सम्वाददाता
२५ कार्तिक २०८१, आइतवार

विराटनगर । विवादित जापान भ्रमणपछि अनुसन्धानका लागि आइतबार पक्राउ परेका कोशी प्रदेश सभाका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई एमाले संसदीय दलले स्पष्टिकरण माग गरेको छ ।

राज्यको कानूनी प्रकृया समेत अवलम्बन नगरी विदेश यात्रा गरेको र त्यसबारे संसदीय दललाई समेत जानकारी नगराएको भन्दै दलको तर्फबाट संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अधिकारीलाई २४ घण्टे स्पष्टिकरणको पत्र थमाएका हुन् । 

‘राज्यको कानूनी प्रकृया समेत अवलम्बन नगरी विदेश यात्रा गर्नुभएको जानकारी प्राप्त भएबमोजिम तपाईंले विधानको दफा २१ (१) को खण्ड (ख) विपरीत कार्य गर्नु भएको देखिएको हुँदा तपाईँलाई विधानको दफा २३ (१) को खण्ड (ख) (ग) र (घ) बमोजिम किन कारवाही नगर्ने सो विषयको स्पष्टीकरण यो पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलको कार्यालय विराटनगरमा प्राप्त हुने गरी पेश गर्न निर्देशन गरिएको छ’ स्पष्टिकरण पत्रमा भनिएको छ । 

‘समयभित्र स्पष्टीकरण नदिएमा वा दिइएको स्पष्टीकरण चित्त बुझ्दो नभएमा विधान बमोजिम तपाईंमाथि कारवाही भई जाने व्यहोरा समेत निर्देशन अनुसार जानकारी गराइन्छ’ पत्रमा उल्लेख छ । प्रमुख सचेतक भण्डारीले ह्वाट्सएपमार्फत सांसद अधिकारीलाई स्पष्टिकरण पत्र पठाइएको समेत जानकारी दिए ।

अधिकारीले अनुसन्धानलाई सहयोग गर्न भन्दै आजै अपरान्ह १ः५० को यति एयरबाट काठमाडौँ जाने तयारीमा रहेको बताएका थिए । तर डेरामा बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । उनलाई शनिबार साँझदेखि नै प्रहरी निगरानीमा राखेको थियो ।

View : 190

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved