विराटनगर । सनातन धर्म सेवा समिति, विराटनगरको आयोजनामा आइतबार गुरुपूजन एवम् सनातन व्याख्यानमाला, विशेष सम्मान, पुरस्कार अर्पण तथा संस्थाको वार्षिक साधारणसभा सम्पन्न भयो ।
समिति अध्यक्ष कविराज न्यौपानेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र लक्ष्मीनारायण मन्दिर पाञ्चालीका प्रमुख स्वामी अच्युतप्रपन्नचार्यले सम्मानित व्यक्तित्व तथा संस्थाहरूलाई प्रमाणपत्र, माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए भने नगद पुरस्कार दाता एवम् उनीहरूका प्रतिनिधिहरूले प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै वाग् गुरुकुलम् गौरीघाट, काठमाडौंका संस्थापक स्वामी डा. केशवप्रसाद (केएन स्वामी) ले धर्मको रक्षाका लागि वैदिक शिक्षालाई बालबालिकाबीच लोकप्रिय बनाउन सकेमा मात्र हाम्रो सनातन संस्कृतिको संरक्षण हुनेमा जोड दिए ।
बालबालिकालाई वैदिक शिक्षाबाट टाढा राख्नु भनेको हाम्रो धर्म–संस्कृति पतनको दिशातर्फ लैजानु भएकोले बालबालिकालाई अनिवार्य रूपमा वैदिक शिक्षा दिनुपर्ने उनले बताए ।
साथै, मन्दिरको कमाइ भौतिक संरचना निर्माणका लागि मात्र धेरै खर्च भएको पाइएको बताउँदै अब मन्दिरको आम्दानी शिक्षामा लगानी गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
सनातन धर्मका अभियन्ता गोकुल अधिकारीद्वारा सञ्चालित सो कार्यक्रममा वैदिक सनातन धर्म-संस्कृति क्षेत्रका व्यक्तित्व स्वामी डा. केशानन्दलाई ‘आशकरण यशोदादेवी राठी वैदिक धर्म-संस्कृति शिक्षा सम्मान’ प्रदान गरिएको थियो ।
त्यसैगरी, शिवदत्त रमादेवी भट्टराई वैदिक धर्म-संस्कृति पुरस्कार विश्श्रान्तिधाम गुरुकुलम् (मूलघाट, धनकुटा), किसनलाल रुक्मिणीदेवी राजगढिया धर्म-संस्कृति पुरस्कार (जागृति वृद्धाश्रम, बूढीगंगा–१), ओमप्रकाश–उषादेवी गोयल वैदिक धर्म-संस्कृति पुरस्कार (देवी पाञ्चायन मन्दिर, विराटनगर–१०), गंगाविसन राठी स्मृति शिक्षा सनातन धर्म पुरस्कार (राजाबाबा जामुनेश्वर शिवालय, विराटनगर–४) र बलभभद्र रिजाल नारायण विष्णु हिन्दू धर्म सेवा सम्मान पुरस्कार (नयाँ वृन्दावनधाम संस्कृत गुरुकुलम्, इटहरी) लाई अर्पण गरिएको थियो ।
विराटनगरस्थित सनातन सामुदायिक भवनमा आयोजित सो समारोहमा सरिता रेग्मी, शोभा कोइराला, पुष्पलता कोइराला, प्रतिमा निरौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विराटनगरका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
View : 87
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved