विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) ले स्थापना भएको छोटो समयमै शैक्षिक विस्तारलाई तीव्र बनाउँदै दक्षिण एसियामै चिनिने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।
२०७६ मा स्थापना भई २०७८ देखि पढाइ सुरू गरेको विश्वविद्यालयले अहिले धमाधम स्नातक कार्यक्रमहरूलाई स्नातकोत्तर तहमा स्तरोन्नति गरिरहेको छ ।
हाल कानुन, हस्पिटल एण्ड हेल्थकेयर व्यवस्थापन र इलेक्ट्रिकल इन्जिनियरिङ (पावर सिस्टम) मा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा आइसकेका छन् ।
यसै शैक्षिक सत्रदेखि मनोचिकित्सा (साइकोलोजी) सम्बन्धी स्नातकोत्तर कक्षा पनि थपिएको छ ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार विश्वविद्यालयले डिप्लोमादेखि विद्यावारिधिसम्मको पूर्ण शैक्षिक संरचना विकास गर्ने लक्ष्य राखेको छ । हामी छिटो नतिजा दिने गरी चरणबद्ध रूपमा विस्तार गरिरहेका छौं, पोखरेलले भने ।
मोरङको बूढीगंगा–४ मा २१ बिघा क्षेत्रफलमा फैलिएको केन्द्रीय क्याम्पससहित पूर्वाधार निर्माण गरिसकेको एमटीयूले प्राविधिक शिक्षामा जोड दिंदै दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको छ ।
हाल ८ प्राविधिक विषयमा डिप्लोमा तथा सिभिल, इलेक्ट्रिकल, फार्मेसी र बीबीए एलएलबी जस्ता स्नातक कार्यक्रम सञ्चालनमा छन् ।
अब विश्वविद्यालयले मेडिकल शिक्षातर्फ समेत फड्को मार्ने तयारी गरेको छ ।
बीएससी नर्सिङदेखि एमबीबीएस, एमडीसम्मका कार्यक्रम सुरू गर्ने योजना सार्वजनिक गरिएको छ । साथै, बायोमेडिकल, रेल्वे र टनेल इन्जिनियरिङ, प्राकृतिक चिकित्सा तथा योग विज्ञानजस्ता नयाँ विषय थप्ने तयारी छ ।
एमटीयूले निजी कलेजलाई सम्बन्धन नदिने नीति अपनाउँदै आप्mनै आंगिक कलेजमार्फत शिक्षण गरिरहेको छ, जुन नेपालका अन्य विश्वविद्यालयभन्दा फरक अभ्यास मानिन्छ । विश्वविद्यालयले अनुसन्धान केन्द्र, प्रयोगशाला तथा प्राविधिक परीक्षण सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।
१० वर्षभित्र अन्तर्राष्ट्रिय स्तरमा चिनिने लक्ष्यसहित अघि बढिरहेको एमटीयूले विज्ञान पार्क, शिक्षण अस्पताल, अन्तर्राष्ट्रिय सहकार्य र अन्तरीक्ष केन्द्र (स्पेस सेन्टर) सम्मका दीर्घकालीन योजना सार्वजनिक गरेको छ ।
View : 91
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved