विराटनगर, १३ असोज
भारत–नेपाल सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सञ्चालन भइरहेको अभियानअन्तर्गत सोमबार सशस्त्र सीमा बल (एसएसबी) र कुआरी थाना प्रहरीको संयुक्त टोलीले कटफर गाउँ नजिकबाट १४ वटा गाईवस्तु बरामद गरेको छ।
प्रहरी र एसएसबीको टोलीलाई देखेपछि गाईवस्तु लिएर गइरहेका संदिग्ध व्यक्तिहरू गाईवस्तु छाडेर फरार भएका थिए।
जानकारीअनुसार ५२औँ वाहिनी एसएसबीका कार्यवाहक कमान्डेन्ट आलोक कुमारको निर्देशनमा बाह्य सीमा चौकी कुआरीका जवानलाई गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा एसएसबी र कुआरी थाना प्रहरीको संयुक्त टोली सोमबार बिहान कटफर गाउँतर्फ गस्तीमा निस्किएको थियो।
गस्ती टोली आफ्नोतर्फ आउँदै गरेको देखेपछि संदिग्धहरू गाईवस्तु छाडेर फरार भएका थिए। त्यसपछि टोलीले आसपासको क्षेत्रमा सघन खोजी गर्नुका साथै स्थानीय बासिन्दासँग समेत सोधपुछ गरेको थियो।
खोजीका क्रममा सीमा स्तम्भ नम्बर १६७ बाट करिब दुई किलोमिटर दक्षिणतर्फ भारतीय क्षेत्रमा १४ वटा गाईवस्तु बरामद गरिएको एसएसबीले जनाएको छ। बरामद गाईवस्तुमा चार वटा गोरु, आठ वटा गाई र दुई वटा बाच्छा रहेका छन्। एसएसबीका अनुसार फरार संदिग्धहरूको पहिचान तथा उनीहरूसँग जोडिएको सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान भइरहेको छ। बरामद गाईवस्तुहरूलाई आवश्यक कारबाहीका लागि कुआरी थाना प्रहरीको जिम्मा लगाइएको छ ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved