Biratnagar, Morang, Nepal
२६ जेठ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वमन्त्री खड्कासहित संखुवासभाका तीन नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

उद्‌घोष संवाददाता
२६ जेठ २०८३, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासहित संखुवासभाका तीन नेतासँग स्पष्टीकरण सोधेको छ । 

पूर्वमन्त्री खड्का, अहिलेका  जिल्ला सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिङ्खालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको अनुशासन समितिले जानकारी दिएको छ ।

उनीहरूमाथि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको र विपक्षी उम्मेदवारलाई जिताउन भूमिका खेलेको आरोप छ ।

यसपटकको निर्वाचनमा संखुवासभामा कांग्रेसका आधिकारिक उम्मेदवार दीपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका थिए । उनी तेस्रो स्थानमा रहेर पराजित भएका थिए । 

विजयी नेकपा एमालेका अर्जुनकुमार कार्कीले १५ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५ हजार मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।  

अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित छुट्टाछुट्टै पत्रहरूमा उनीहरूलाई पार्टी विधानविपरीत कार्य गरेको भन्दै पत्र प्राप्त भएको पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ । यदि चित्तबुझ्दो स्पष्टीकरण नदिएमा विधानअनुसार कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।

पूर्वमन्त्री  खड्का संखुवासभाको धर्मदेवी नगरपालिकाका स्थायी बासिन्दा हुन् । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा–२ बाट निर्वाचित भएका खड्का खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा संखुवासभाबाट कांग्रेस उम्मेदवारका रूपमा विजयी भएर सांसद चुनिएका उनी २०८१ सालमा   ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री नियुक्त भएका थिए । जलविद्युत व्यवसायी खड्का मन्त्री पदमा हुँदा विवादमा परेका थिए । 

खासगरी कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट हटाउन जोडबल गरेका उनीविरुद्ध जनआक्रोश चुलिएको थियो । 

भदौ २३–२४ को जेनजी आन्दोलनको समयमा उनको बूढानिलकण्ठस्थित घरमा आगजनी भएपछि बरामद भएको नगदका कारण पनि उनी विवादमा परेका थिए । उनलाई सम्पत्ति शुद्धीकरणको आरोप लागेको थियो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरे पनि पछि सर्वोच्च अदालतले रिहा गरेको थियो । यी घटनाहरूबीच नै पार्टी अनुशासन समितिलेसमेत उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ  । 

कांग्रेस अनुशासन समितिको पत्रअनुसार, फागुन १२ गते धर्मदेवी नगरपालिकाको मुडे बजारमा घरदैलो कार्यक्रमका क्रममा खड्काले पार्टी नीति र नेतृत्वविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका थिए ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई नमान्ने, कांग्रेसले चुनाव जित्दैन भन्ने जस्ता अभिव्यक्ति दिएर कार्यकर्तालाई आफ्नो इच्छाअनुसार काम गर्न उक्साएको उजुरी उनीविरुद्ध परेको अनुशासन समितिले जनाएको छ । 

कुमारबाबु अधिकारी र थलकुमार लिङ्खामाथि खड्काकै निर्देशनमा संगठन विरोधी गतिविधि गरेको भन्ने उजुरी छ । 

आफू निकट कार्यकर्तालाई कांग्रेसका चुनावी कार्यक्रममा उपस्थित नहुन फोन गरेको, बाहिर रुख चिन्हमा  मत मागे जस्तो गरे पनि भित्रैभित्र सूर्य, घण्टी र माटोमा भोट हाल्न प्रेरित गरेको उजुरी परेको समितिको भनाइ छ ।

View : 89

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved