Biratnagar, Morang, Nepal
२५ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

सञ्चारकर्मी सञ्चार सहकारीद्वारा चार पत्रकार पुरस्कृत हुँदै

उद्‌घोष संवाददाता
२५ असार २०८३, बिहिवार

Advertisement

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो १५औँ स्थापना दिवसको अवसरमा यसवर्ष चारजना पत्रकारहरूलाई पुरस्कृत गर्ने भएको छ ।

सहकारीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुरस्कार दातासहितको परामर्श र पुरस्कार छनोट समितिको सिफारिसका आधारमा पुरस्कृत हुने पत्रकारहरूको नाम टुंगो लगाएको हो । संस्थाका अध्यक्ष दीपक दाहालका अनुसार हरेक वर्ष असार २७ गते मनाइने स्थापना दिवसको अवसर पारेर यी पुरस्कारहरू प्रदान गरिँदै आएको छ ।

यस वर्षको २१ हजार रुपैयाँ राशिको  मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका संवाददाता पदम सरदारलाई   र १० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार नेपाल टाइम्स अनलाइन टेलिभिजनकी पत्रकार रस्मिता उदासलाई  प्रदान गर्ने निर्णय गरेको छ ।

सहकारीले ५१ हजार रुपैयाँ राशिको  तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष एवं दर्शन दैनिकका सम्पादक शिवबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै, ५० हजार रुपैयाँ राशिको  ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका विराटनगर संवाददाता अर्जुन आचार्यलाई प्रदान गरिने भएको छ ।

यी घोषित पुरस्कारहरू आगामी शनिबार दिउँसो नेपाल पत्रकार महासंघ विराटनगरको सभाकक्षमा आयोजना हुने एक विशेष समारोहका बीच समर्पण गरिने सहकारीले जनाएको छ ।

यसअघि  सञ्चार श्रमजीवी पुरस्कारबाट रोहितकुमार लुइटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभयकुमार राई, देवनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल, नवीनचन्द्र कर्ण र अनिल श्रेष्ठ तथा महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योति चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रञ्जीता पोखरेल, झुना भट्टराई र रुमा दाहाल निशा सम्मानित भइसकेका छन् ।

तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मानबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान, मोहन भण्डारी र सुवास ढकाल सम्मानित भइसकेका छन् ।

त्यस्तै, ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट भीम चापागाईं, गजेन्द्र बुढाथोकी, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल, सुशीला पाठक र बन्धु पोखरेल सम्मानित भइसकेका छन् ।

View : 36

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved