Biratnagar, Morang, Nepal
१९ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस मोरङ–६ क्षेत्रीय अधिवेशन

तामाङ पक्षको बहिस्कारपछि तबदारसहित अधिकांश पदमा निर्विरोध

उद्‌घोष संवाददाता
१८ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । इतर पक्षको बहिस्कारपछि नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय समितिको सभापतिसहित पदाधिकारी र अधिकांश सदस्य निर्विरोध चयन भएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनबाट क्षेत्र नं. ६ को प्रतिनिधिसभा क्षेत्रीय समितिको सभापतिमा चुमनारायण तबदार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले तबदार निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

त्यस्तै, सचिवमा विष्णुराज बुढाथोकी, सह–सचिव (खुला) मा रामबहादुर सेलवाल र सह–सचिव (महिला) मा नम्रता दंगाल (खातुन) निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. ६ अन्तर्गत प्रदेशसभा क्षेत्र ६ (क) को क्षेत्रीय समिति पनि निर्विरोध चयन भएको छ । सभापतिमा मातृका चापागाईं निर्वाचित भएका छन् । उपसभापतिमा पिताम्बरप्रसाद दाहाल, सचिवमा सुष्मा चौधरी, सह–सचिव (खुला) मा नवराज पौडेल र सह–सचिव (महिला) मा रोजिना थापा निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेशसभा ६ (ख) को सभापतिमा भएको निर्वाचनबाट रामसुन्दर राजवंशी निर्वाचित भएका छन् । राजवंशीले ११७ मत प्राप्त गर्दै प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राजकुमार खड्काले ५७ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा गणेशप्रसाद निरौला, सचिवमा राजकुमार दाहाल, सह–सचिव (खुला) मा अमृतकुमार साह र सह–सचिव (महिला) मा अन्जु अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

क्षेत्रीय समिति चयन प्रक्रिया एकपक्षीय र अवैधानिक रूपमा अघि बढाइएको भन्दै वर्तमान सभापति देवराज तामाङ, सभापतिका उम्मेदवार जितनारायण थापामगरलगायतले बहिस्कार गरेका थिए ।

गत बुधबार सुन्दरहरैंचामा वर्तमान सभापति तामाङले बोलाएको क्षेत्रीय अधिवेशनमा सभापतिका उम्मेदवार तबदारसहित आधा दर्जन नेता–कार्यकर्तामाथि आक्रमण भएको थियो । तामाङले भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । उनका अनुसार विगतदेखिको क्रियाशील सदस्यता विवाद र प्रमुख अतिथि केन्द्रीय सहमहामन्त्री डा. डिला संग्रौला ढिला गरी कार्यक्रममा आएका कारण कार्यकर्तामा आक्रोश बढेपछि घटना भएको हो ।

सोही कारण मोरङ–६ को क्षेत्रीय समितिको निर्वाचन प्रक्रिया अवरुद्ध भएपछि जिल्ला समितिका सहसचिव सञ्जयकुमार मण्डललाई शुक्रबार पुनः क्षेत्रीय समितिको अधिवेशन गराउने जिम्मेवारी तोकिएको थियो ।

तर तामाङ पक्षले आफू क्षेत्रीय सभापति हुँदाहुँदै केन्द्रीय समितिको नाममा अर्कै व्यक्तिलाई क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी दिइएको भन्दै अधिवेशनमा सहभागी नहुने जानकारी पत्रकार सम्मेलनमार्फत गराएको थियो ।

शुक्रबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका छन् । सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानमा भएको क्षेत्रीय अधिवेशनका क्रममा आक्रमणमा परी घाइते भएका चेतराज रेग्मी महाधिवेशन प्रतिनिधिमा सर्वाधिक ३१४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा अभिषेक श्रेष्ठ, अशोकप्रसाद रिजाल, किशोर कार्की, जनार्दनराम निरौला, यसोन श्रेष्ठ (मिलन), विमल भट्टराई, वीरेन्द्रकुमार माझी, सञ्जयकुमार मण्डल र सन्तोष न्यौपाने निर्वाचित भएका छन् ।

महिला महाधिवेशन प्रतिनिधितर्फ सहमहामन्त्री डा. डिला संग्रौलाले सर्वाधिक ३२४ मत प्राप्त गरेकी छन् । त्यस्तै, अमृताकुमारी गच्छदार, डा. प्रमिलाकुमार गच्छदार र लिला ढुंगेल (वाग्ले) निर्वाचित भएको जनाइएको छ ।

View : 74

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved