Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

‘कोशीलाई व्यापारको ट्रान्जिट हब बनाऔं’

उद्‌घोष संवाददाता
६ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले तेस्रो मुलुकबाट आयात हुने सामान भारतीय रेलमार्ग हुँदै नेपाली भन्सारसम्म ल्याउने निजी क्षेत्रको लामो माग कार्यान्वयनमा आएको भन्दै त्यसले उद्योग–व्यवसायको लागत उल्लेख्य रूपमा घटाउने विश्वास व्यक्त गरेका छन् ।

‘भारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना एवं आईसीपीको पूर्वाधार विकास’ विषयक कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष राउतले रेलमार्फत ढुवानी हुँदा यातायात खर्च कम हुने, सामान सुरक्षित रहने, भन्सार परिसरमै अनलोड गर्न सकिने तथा चोरी वा क्षतिको जोखिम न्यून हुने बताए ।

उनले भारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापार विस्तार, कार्गो रेल सेवाको प्रभावकारी सञ्चालन तथा एकीकृत जाँच चौकी (आईसीपी) को पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।

‘पहिले ६ घण्टाको बाटोमा दुई तीन दिन लाग्ने अवस्था थियो, लागत बढेको बढ्यै गथ्र्यो, त्यो अहिलेबाट मुक्त भएको छ, विगतमा कलकत्ता र हल्दियाबाट कन्टेनरमा हालेर जुन तरिकाले ल्याउथ्यौं, त्यसरी ल्याउ“दा सामान नोक्सानी हुनसक्ने अवस्था थियो, दुर्घटना भएमा बीमामा पनि झमेला हुन्थ्यो, उद्योगी व्यवसायीले ठुलो समस्या भोग्नुपथ्र्यो, अब त्यो समस्याबाट मुक्त भएको छ’ अध्यक्ष राउतले भने, ‘अब सुरक्षित रुपमा कलकत्ता र विशाखापटनमबाट मालवस्तु यहाँ आउँछ र यसले गर्दा तुरुन्तै अनलोडिङ भएर भन्सार क्लियर हुन्छ र उद्योगसम्म पुग्न सक्छ ।’

उनले कार्गो रेल सञ्चालनको निरन्तरताका लागि उद्योगी व्यवसायीको पनि हात हुने बताए । तर कार्गो रेलबाट हुने फाइदा नै निजी क्षेत्रलाई भएकोले निरन्तरतामा शंका नरहेको जिकिर गरे । 

साथै, विराटनगर भन्सार यार्डसम्म आएको रेललाई मुख्य गन्तव्य कटहरीसम्म पु¥याउनका लागि भने सरकारले तत्कालै पहल गर्नुपर्नेमा जोड दिए । ‘अहिले यो काम हुन सकेको छैन’ उनले भने, ‘सरकारले कटहरीमा जसरी रेल पूर्वाधार बनाउने र व्यवस्थित गर्ने कुरा गरेको छ त्यो काम छिटो हुनुपर्छ, किनभने यो काम नेपालकै लागि माइलस्टोन हो ।’

आईसीपीमा पर्याप्त गोदाम, क्रेन, अनलोडिङ उपकरण तथा अन्य भौतिक पूर्वाधार अभाव रहेकाले समयमै व्यवस्थापन हुन नसके डेमरेज शुल्कको भार बढ्न सक्ने चेतावनी दिएका छन् । 

ठूलो परिमाणमा सामान आउने भएकाले साना तथा मझौला व्यवसायीलाई पनि समान रूपमा लाभ पुग्ने व्यवस्था गर्नुपर्नेमा अध्यक्ष राउतले जोड दिएका छन् ।

राउतले भारत, चीन, बंगलादेश र भुटानसँग जोडिएको रणनीतिक अवस्थाका कारण कोशी प्रदेशलाई क्षेत्रीय व्यापारको ट्रान्जिट हबका रूपमा विकास गर्नुपर्ने बताए । 

प्रदेशबाट उत्पादित चिया, अलैंची, अदुवा, बेसारलगायत कृषि उत्पादनको निर्यात प्रवद्र्धनका लागि एक्स्पोर्ट हाउस स्थापना आवश्यक रहेको बताए । 

व्यापार सहजीकरणका लागि एकद्वार सेवा, भन्सार नाकामा प्रयोगशाला, आधुनिक प्रविधि र आयात प्रतिस्थापन गर्दै निर्यातमुखी उद्योग प्रवद्र्धनमा जोड दिएका छन् ।

भन्सार सुधार तथा व्यापार सहजीकरण विज्ञ श्यामप्रसाद दाहालले नेपाल–भारत, नेपाल–चीन र नेपाल–बंगलादेशबीच भएका पारवहन तथा व्यापार सम्झौताले व्यापार विस्तारका पर्याप्त अवसर सिर्जना गरेको बताए । 

उनले प्रभावकारी भन्सार सुधार, गैरभन्सार अवरोध न्यूनीकरण, इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीको पूर्ण कार्यान्वयन तथा भन्सार नाकाको पूर्वाधार विकास व्यापार सहजीकरणका मुख्य आधार भएको बताए ।

पूर्व सहसचिव रविशंकर सैंजुले विद्यमान सन्धि–सम्झौताबाट अधिकतम लाभ लिन व्यवसायी स्वयम् पनि कानुनी व्यवस्था र व्यापार प्रक्रियाबारे जानकार हुनुपर्नेमा जोड दिए । 

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भन्सार प्रशासनले व्यवसायीलाई झन्झटरहित र समयमै सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कार्यक्रममा उद्योग वाणिज्य क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरूले कार्गो रेल सेवाको प्रभावकारी सञ्चालनसँगै आईसीपीको पूर्वाधार विस्तार, व्यापार सहजीकरण र निर्यात प्रवद्र्धनका लागि नीतिगत तथा संरचनागत सुधार अपरिहार्य रहेको धारणा राखेका थिए ।

View : 11

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved