Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

मेसिनले क्रिकेट सिकाउँदै

उद्‌घोष संवाददाता
८ चैत २०८२, आइतवार

विराटनगर । विराटनगरमा नयाँ प्रविधिमार्फत क्रिकेट सिकाउन थालिएको छ । विराटनगरमा सुरु भएको नयाँ अभ्यासले प्रशिक्षणको परिवर्तनलाई झल्काएको छ—जहाँ मेसिनले नै क्रिकेट सिकाइरहेको छ ।

लायन क्रिकेट एकेडेमीले अत्याधुनिक क्रिकेट बलिङ मेसिन भित्र्याएपछि खेलाडीहरूको उत्साह झनै बढेको छ । 

एकेडेमीका सञ्चालक बद्री बस्नेतका अनुसार यो मेसिनले प्रतिघण्टा १६५ किलोमिटरसम्मको गतिमा बल फाल्न सक्छ । खेलाडीले यस्तो तीव्र गतिका बललाई ब्याटले फर्काउनुपर्ने हुँदा अभ्यास अझ चुनौतीपूर्ण र प्रभावकारी बनेको छ ।

भारतको तेलङ्गनाबाट आयात गरिएको यो मेसिनले एकैपटक ३० वटा बल प्रहार गर्न सक्छ । विशेषगरी ब्याट्सम्यानका लागि उपयोगी मानिएको सोे उपकरणले छोटो समयमा धेरै अभ्यास गराउने सुविधा दिन्छ । 

एकेडेमीले यसलाई नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको दाबी गरेको छ ।

मोबाइलमा अल्झिने बानी बढ्दै गएका किशोरलाई खेलतर्फ आकर्षित गर्न पनि यो पहल उपयोगी हुने बताइएको छ । 

बस्नेतका अनुसार एकेडेमीमा नियमित आउने विद्यार्थीको मोबाइल प्रयोग घटेको छ । उनका छोरा कृतार्थ बस्नेत र उनका साथी एलिश बस्नेत प्रदेशस्तरीय प्रतियोगितासम्म पुगिसकेका छन् ।

एकेडेमीमा ५ वर्षदेखि २५ वर्ष उमेर समूहका करिब ३ सय विद्यार्थी भर्ना भए पनि हाल करिब आधाले नियमित अभ्यास गरिरहेका छन् । 

अभ्यास प्रत्येक दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ, जसलाई प्रमुख प्रशिक्षक कुन्दनसिंह खतिवडाले सम्हालिरहेका छन् ।

यो प्रविधिमैत्री अभ्यासको औपचारिक सुरूवात नेपाल क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष सर्वजीत पाण्डे र पूर्व राष्ट्रिय खेलाडी नवीन घिमिरेले गरे । उनीहरूले मेसिनबाट बलिङ र ब्याटिङ गरेर उद्घाटन गरेका थिए । 

यसअघि पनि यही एकेडेमीबाट अभ्यास गरेका केही खेलाडी राष्ट्रिय टोली छनोटसम्म पुगेको बताइएको छ ।

View : 992

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved