Biratnagar, Morang, Nepal
१३ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वपश्चिम राजमार्गको सुनसरी खण्डमा पुनः अनिश्चितकालीन कर्फ्यु

उद्‌घोष संवाददाता
१२ साउन २०८३, मङ्गलवार

Advertisement

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले मंगलबार दिउँसो जारी गरेको आदेशअनुसार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो ।

आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैन । प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको जनाएको छ ।

कर्फ्युको क्षेत्राधिकार पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म तोकिएको छ ।

यसअघि प्रशासनले कर्फ्यु हटाएको घोषणा गरे पनि पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै पुनः अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

View : 46

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved