Biratnagar, Morang, Nepal
१५ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ–६ कांग्रेस अधिवेशनमा झडप :

सहमहामन्त्री डिला संग्रौलाद्वारा छानबिन र कारबाहीको माग

उद्‌घोष संवाददाता
१४ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा झडप भएपछि विवाद चर्किएको छ ।

उम्मेदवारी दर्ता प्रक्रिया सुरु गर्ने तयारी भइरहेका बेला सुन्दरहरैंचा नगरपालिका–४ स्थित सिग्देल बन्धु सामुदायिक भवनमा विवाद र झडप भएको हो । घटनामा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदारसहित आधा दर्जन नेता–कार्यकर्ताहरु घाइते भएका हुन् ।

घटनाप्रति कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेकी छन् ।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वनिर्धारित निर्वाचनस्थलमा मादक पदार्थ सेवन गरी हातहतियारसहित आएका केही व्यक्तिले आफू लगायत क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मी र जेन्जी युवा समुन्द्र पोखरेललगायत उम्मेदवारी दर्ताका लागि उपस्थित नेताहरुमाथि सांघातिक आक्रमण गरेको उल्लेख छ ।

उनले क्षेत्रीय सभापति देवराज तामाङ र उनैबाट परिचालित समूहको आक्रमण गरेकी दाबी गरेकी छन् । 

उनले लोकतान्त्रिक व्यवस्थामा अराजकता, अनुशासनहीनता र हिंसाका लागि कुनै स्थान नहुने भन्दै घटनामा संलग्न तथा त्यस्ता गतिविधिका लागि उक्साउने व्यक्तिहरूमाथि आवश्यक छानबिन गर्न माग गरेकी छन् ।

संग्रौलाले सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुन तथा कांग्रेसको विधानबमोजिम कारबाही गर्न र स्थगित निर्वाचन प्रक्रियाका लागि वैकल्पिक व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष आग्रह गरेकी छन् । साथै, उनले स्थगित निर्वाचन प्रक्रिया यथाशीघ्र सुचारु गर्न पार्टी सभापति तथा केन्द्रीय निर्वाचन समितिसमक्ष माग गरेकी छन् ।

यसैबीच, क्षेत्रीय सभापति देवराज तामाङले भने आफूले कसैलाई आक्रमण गर्न निर्देशन नदिएको बताएका छन् । विवाद क्रियाशील सदस्यता वितरणको विषयबाट सुरु भएको र आफू कार्यक्रम सञ्चालनको तयारीमा रहेको उनको भनाइ छ । संग्रौलाले लगाएको आरोप पुष्टि गर्नुपर्ने तामाङको प्रतिक्रिया छ ।

मोरङ–६ को कांग्रेस अधिवेशन प्रक्रिया यसअघि पनि क्रियाशील सदस्यताको अन्तिम सूची तथा अधिवेशन सञ्चालनसम्बन्धी विवादका कारण प्रभावित भएको थियो । पछिल्लो झडपसँगै क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया थप प्रभावित भएको छ ।

View : 35

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved