Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीको दोस्रो आवधिक योजनाका लागि परिसंघको ५० बुँदे सुझाव

उद्‌घोष संवाददाता
२९ वैशाख २०८३, मङ्गलवार

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले कोशी प्रदेशको दोस्रो आवधिक योजना निर्माणका लागि आर्थिक, औद्योगिक, कृषि, पर्यटन, ऊर्जा तथा भौतिक पूर्वाधार क्षेत्रसँग सम्बन्धित ५० बुँदे सुझाव दिएको छ । 

परिसंघका अध्यक्ष पवनकुमार सारडाले सोमबार प्रदेश योजना आयोगका उपाध्यक्ष तारा निरौलालाई सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

सारडाले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्दै लगानी, उद्योग विस्तार, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमार्फत प्रदेशको समृद्धि हासिल गर्न सकिने सुझावमा उल्लेख गरेका छन् ।

सुझावपत्रमा कृषि आधुनिकीकरण, उद्योग विस्तार, जलविद्युत् विकास, पर्यटन प्रवद्र्धन, सीमावर्ती व्यापार विस्तार तथा डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राखिएको छ । झापा, मोरङ र सुनसरी क्षेत्रमा कृषि–आधारित उद्योग विस्तार, स्थानीय उत्पादनको प्रशोधन तथा निर्यात प्रवद्र्धन गर्नुपर्ने सुझाव दिइएको छ ।

ऊर्जा क्षेत्रमा अरुण, तमोर र दूधकोशी नदीको उपयोग गरी जलविद्युत् आयोजना तीव्र रूपमा अघि बढाउनुपर्ने परिसंघको सुझावमा उल्लेख छ । 

परिसंघले ५० मेगावाटसम्मका जलविद्युत् आयोजनाको स्वीकृति प्रदेश सरकारले नै सरल प्रक्रियामार्फत दिनुपर्ने प्रस्ताव पनि गरेको छ ।

पाथीभरा, बराहक्षेत्र, कोशी टप्पु, बर्जु ताल, हलेसी र सगरमाथा क्षेत्रलाई धार्मिक तथा साहसिक पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने सुझाव दिइएको छ । 

साथै होटल, होमस्टे, यातायात र पर्यटन पूर्वाधार विस्तारमार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरिएको छ ।

परिसंघले सुनसरी–मोरङ औद्योगिक करिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्न, लगानी प्रक्रियालाई डिजिटल र झन्झटरहित बनाउन तथा सार्वजनिक–निजी साझेदारी मोडलमार्फत पूर्वाधार निर्माण अघि बढाउन आग्रह गरेको छ ।

त्यसैगरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा विस्तार, कृषि क्षेत्रमा सौर्य प्रविधिको प्रयोग तथा २५ मेगावाटसम्मका सौर्य आयोजनाको स्वीकृति प्रदेश सरकारले नै दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि पेश गरिएको छ ।

परिसंघका महानिर्देशक विजयहरि शर्माले कोशी प्रदेशलाई उत्पादन, ऊर्जा, पर्यटन र व्यापारको केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन तथा निजी क्षेत्रमैत्री नीति आवश्यक रहेकोले लिखित रुपमा सुझाव हस्तान्तरण गरिएको जानकारी दिए ।

View : 117

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved