विराटनगर महानगरपालिकाको १२ नम्बर वडाले पछिल्लो समय विकास र सामाजिक रूपान्तरणको नयाँ अध्याय कोर्दै छ ।
कुनै समय पछाडि परेको क्षेत्रका रूपमा चिनिने यो वडाले अहिले पूर्वाधार निर्माण, शैक्षिक सुधार र सुरक्षाका हिसाबले उल्लेख्य फड्को मारेको छ ।
जनप्रतिनिधि र कर्मचारीहरूको दृढ इच्छाशक्ति तथा सामूहिक प्रयासका कारण वडा अहिले विकासको पथमा तीव्र गतिमा लम्किरहेको छ ।
वडाध्यक्ष हिरालाल कामतका अनुसार वि.सं. २०७४ मा पहिलो पटक पदभार ग्रहण गर्दाको अवस्था र अहिलेको तुलना गर्दा वडामा आमूल परिवर्तन आएको छ ।
‘पाञ्चाली क्षेत्रमा मात्र सीमित कालोपत्रे सडकको सञ्जाल अहिले ७० प्रतिशतसम्म विस्तार भएको छ,’ उनी गौरवका साथ भन्छन् ।
१० किलोमिटर कालोपत्रे र २० किलोमिटर ग्राभेल सडक निर्माणले स्थानीयको आवागमन सहज बनाएको छ भने ‘उज्यालो वडा अभियान’ अन्तर्गत जडान गरिएका पर्याप्त बत्ती र भेपरलाइटले रातको समयमा वडालाई सुरक्षित र झलमल्ल बनाएको छ ।
यसका अतिरिक्त, महाकवि देवकोटा स्मारकको स्तरोन्नति, पञ्चमुखी चोकलाई ‘स्मार्ट चोक’ का रूपमा विकास गर्ने कार्य र दर्जनौँ स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराले वडाको सौन्दर्य र सुरक्षामा थप बल पुर्याएका छन् ।
वडाको शैक्षिक पहिचान भने कोशी प्रदेशकै गौरव मानिने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले धानेको छ ।
यति मात्र होइन, लक्ष्मीनारायण वेदविद्याश्रम, होलिल्याण्ड, देवकोटा र विनायक बोर्डिङ स्कुलहरूले यहाँको शैक्षिक वातावरणलाई जीवन्त बनाएका छन् ।
स्थानीय तीनवटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्नुका साथै छात्रवृत्ति र पोसाकको व्यवस्था गरी शैक्षिक गुणस्तर उकास्न वडाले विशेष प्राथमिकता दिइरहेको छ ।
साथै, पञ्चमुखी युवा समाज, जनकल्याण युवा समूह, बखरी युवा क्लब र विराट राजवंशी सांस्कृतिक पुस्तकालयमार्फत युवा र सामाजिक चेतनालाई चलायमान बनाउने प्रयास भइरहेको छ ।
विकासका यी सुवर्ण गाथाका बीच वडाले केही कठोर चुनौतीहरूसँग पनि जुध्नु परिरहेको छ । बर्खा लाग्नेबित्तिकै दरहिया, मलहनुवा, पोखरीटोल, पुस्तकालय चोक र ऋषिदेव टोलमा हुने डुबान यहाँको सबैभन्दा ठूलो समस्या हो ।
मुख्य ढलको निकास नहुनुले स्थानीयलाई सास्ती दिइरहेको छ भने भारतीय सिमानासँग जोडिएको भूगोल भएका कारण चोरी, तस्करी र लागुऔषधको दुव्र्यसन यहाँको चिन्ताको विषय बनेको छ ।
वडाले सुधार केन्द्रमार्फत दुर्व्यसनीको उपचार गरिरहेको भए पनि यो समस्या पूर्ण रूपमा नियन्त्रण गर्न ठूलो कसरत आवश्यक छ ।
वडा नं. ११ को पञ्चमुखी चोकदेखि दक्षिणमा नेपाल–भारत दशगजासम्म फैलिएको यो वडाको भूगोलका आफ्नै जटिलता छन् ।
२५ हजारभन्दा बढी जनसङ्ख्या भएको वडाका लागि प्राप्त २ करोड ३८ लाख ९० हजार रुपैयाँको वार्षिक बजेट अपर्याप्त रहेको वडाध्यक्ष कामतको गुनासो छ ।
यद्यपि, वडासदस्यहरू राजेश सरदार थारू, कुशेश्वर राजवंशी, प्रमिला राजवंशी र देवी विश्वकर्मासहितको टोली विकासका लागि सक्रिय छ ।
गत भदौ २४ गतेको आन्दोलनले वडा कार्यालयमा क्षति पुर्याउँदा पनि एक महिनाभित्रै सेवा सुचारु गरेको यो टोलीको दृढताले वडाको विकासप्रतिको निष्ठालाई दर्शाउँछ ।
अहिले वडाको मुख्य प्राथमिकता केशलिया खोलामा तटबन्ध, सीमा क्षेत्रमा कडा निगरानी, दिगो ढल निकास र फोहोर व्यवस्थापन बनेको छ ।
वडासदस्यहरूको भनाइमा सडक बत्ती, नहर सरसफाइ र महिला तथा पिछडिएको वर्गको सशक्तीकरणका लागि निरन्तर काम भइरहेको छ ।
महानगर, प्रदेश र केन्द्रीय सरकारको समन्वयात्मक सहयोग पाएमा विराटनगर–१२ चाँडै नै एउटा नमुना र समृद्ध वडाका रूपमा स्थापित हुने कुरामा स्थानीय विश्वस्त देखिन्छन् ।
चुनौतीका चाङमा उभिएर पनि विकासको पथमा अघि बढ्दै गरेको यो वडाको यात्रा साँचै नै प्रेरणादायी छ ।
View : 22
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved