Biratnagar, Morang, Nepal
२० जेठ २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा सरकारले पायो पूर्णता

सात मन्त्री नियुक्त, १० सदस्यीय बन्यो मन्त्रिमण्डल

उद्घोष सम्वाददाता
४ जेठ २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एमालेका चार र माओवादी केन्द्रबाट तीन जनासहित जम्मा सात जना मन्त्रीहरू नियुक्त गरेका छन् । जसमध्ये पाँचजना मन्त्री र दुईजना राज्यमन्त्री रहेका छन् ।

मुख्यमन्त्री कार्कीले यसअघि विनाविभागीय रहेका दुई मन्त्रीहरूको कार्यविभाजन समेत गरेका हुन् ।  नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कार्यविभाजन अनुसार यसअघि विनाविभागीय रहेका राम बहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् । 

एमाले संसदीय दलका उपनेता रानासहित लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून, एकराज कार्की खानेपानी, सिँचाइ तथा उर्जा, पाँचकर्ण राई सामाजिक विकास मन्त्री नियुक्त भएका छन् । एमालेबाट सिर्जना राई विनाविभागीय मन्त्री नियुक्त भएकी हुन् । 

त्यसैगरी गणेश प्रसाद उप्रेतीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा माओवादीबाट सरकारको नेतृत्व गरेका छन् । 

स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर र सोही मन्त्रालयको राज्यमन्त्रीमा वन्दना झाँगडले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

झाँगड पहिलो पटक मन्त्री बनेकी हुन् । उनी बाहेक सबैजना यसअघिकै सरकारमा मन्त्री भइसकेका छन् ।

सत्ता समीकरणमा प्रमुख दलहरू नेकपा एमाले र माओवादी केन्द्रबीच दुई दिनयताको छलफलपछि मन्त्रालयको भागबन्डा टुङ्गोमा पुर्‍याएका थिए । 

दुवै दलमा अघिल्लो पटक मन्त्री बनेकाहरूलाई नै निरन्तरता दिने सहमति बनेपनि माओवादी केन्द्रमा भने तेह्रथुमका सांसद दुर्गाप्रसाद चापागाँईले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएर सरकारमा जानुपर्ने धारणा राखेका थिए । 

उनले उक्त मन्त्रालयमा आफैं जाने र पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने तयारीमा थिए । तर उनी मन्त्रीको लिस्टबाट आउट भएपछि माओवादीबाट उप्रेतीले सरकारको नेतृत्व गर्ने मौका पाएका हुन् ।

कोशी प्रदेशमा हाल आठवटा मन्त्रालय रहेका छन् । मुख्यमन्त्री कार्कीले सातवटा मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालय भने आफु नेतृत्वमै राखेका हुन् ।

View : 177

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved