Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

सिटौलालाई विश्वप्रकाशको प्रश्न : ‘सातबुँदेप्रति तपाइहरूको धारणा के हो ?’

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संस्थापन इतर पक्षलाई तत्काल बैठक गरेर सातबुँदे प्रस्तावप्रति साझा धारणा बनाउन सुझाव दिएका छन् । 

जेठ १६ मा आफूले नेताहरूलाई पठाएको प्रस्तावबारे साझा धारणा निर्माण गर्न शर्माले यसअघि पत्राचार गरेरै नेताहरूलाई भनेका थिए । 

उपसभापति शर्माले पत्राचार गरेको विषयलाई झापाकै अर्का नेता कृष्णप्रसाद सिटौलाले ‘नाटक’ को संज्ञा दिएका थिए । आइतबार विराटनगरमा भएको संस्थापन इतर पक्षको भेलामा सिटौलाले यसो भनेका थिए । 

मंगलबार भने उपसभापति शर्मा र नेता सिटौलाबीच झापाको धुलाबारीमा संयोगवश भेट भएको थियो । 

शर्माका काका पुराना कांग्रेस नेता याम भण्डारीको निधन भएको मंगलबार पाँचौ दिन सिटौला भण्डारी परिवारलाई समवेदना प्रकट गर्न चन्द्रगढीबाट धुलाबारी पुगेका थिए । 

आफ्नो परिवारका सबैभन्दा ज्येष्ठ सदस्य काकाको निधनयता शर्मा घरैमा थिए । त्यहीबेला सिटौला पुगेपछि उनीहरूबीच भेट भएको थियो । 

सोहीक्रममा संस्थापनइतर पक्षका नेता सिटौलासँग शर्माले केहीबेर राजनीतिक विषयमा गफ गरेका थिए । त्यसक्रममा उनले सिटौलालाई सुझाव दिंदै तत्काल साझा धारणा बनाउन भनेका थिए । 

‘हामीले पूर्णबहादुर खड्का दाइसँग कुरा गर्यौं, शेखर कोइराला दाइसित कुरा गर्यौं, कसैबाट तपाईंहरूको साझा धारणा आएन,’ शर्माले सिटौलालाई भनेका थिए, ‘तपाईंहरूसँगै बसेर चिया गफ नगरेको पनि एक महिना जति भइसकेछ । दाइहरू बसेर छिटो साझा धारणा बनाउनुपर्यो । अनि कसले तपाईंहरूको प्रतिनिधित्व गर्ने हो त्यो पनि निश्चित गर्नुपर्यो ।’

शर्मा र सिटौला भेटबारे जानकारी दिंदै झापाका एक कांग्रेस नेताले दिएको जानकारीअनुसार जबाफमा सिटौलाले ‘एकपटक बसेर कुरा गरौं’ भनेका थिए । 

त्यसक्रममा उपसभापति शर्माले आफूहरूलाई बस्न र कुरा गर्न कुनै समस्या नभएको तर आफ्नो प्रस्तावलाई सार्वजनिक रुपमै नाटक किन भनेको भनेर सोधेका थिए । 

‘हाम्रो प्रस्तावलाई त दाइले नाटक भन्नुभएछ । तर हाम्रो बाहिर एउटा भित्र अर्को कुरा छैन, गगन, विश्वप्रकाश जोसँग बस्ने हो, को बस्ने कुरा गर्ने भन्ने तपाईहरूले टुंगो गर्नुपर्यो,’ शर्माले भनेका थिए, ‘यसका लागि तपाईहरू बसेर सल्लाह गर्नुस् ।’

शर्मा र सिटौलाबीचको भेटलाई झापाका सिटौला समर्थक कांग्रेस कार्यकर्ताहरुले ‘वान टु वान’ वार्ता भनेर प्रचारित गरेका छन् । यसको सुरुआत कांग्रेसका झापा सचिव कृष्ण हुमागाईंले गरेका थिए । 

यद्यपि शर्मा निकट नेताहरूले भने यो कुनै वार्ता नभएको बरु घरमा भेट्न आएका पाहुनालाई शर्माले स्वागत गरेको बताएका छन् । 

‘काका बुबा बितेर उपसभापतिजी घरैमा हुनुहुन्छ, समवेदना प्रकट गर्न कृष्ण दाइ आउनुभयो, त्यहीक्रममा केहीबेर कुराकानी भएको हो,’ झापा १ का एक कांग्रेस नेताले भने ‘तर, सिटौलाजीका कार्यकर्ता वान टु वान वार्ता भनिरहेका छन् । त्यस्तो होइन । उपसभापतिजीले यसरी संस्थापनइतर पक्षका सबैजसो नेताहरूलाई लगातार भेटिरहनुभएको छ ।’

View : 73

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved