Biratnagar, Morang, Nepal
१२ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

केदार कार्कीले पनि छाडे शेखरको साथ

उद्‌घोष संवाददाता
११ असोज २०८३, आइतवार

Advertisement

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पनि अन्ततः डा. शेखर कोइरालाको साथ छाडेका छन् । 

कांग्रेसभित्रको पछिल्लो विवादका क्रममा कोइरालाको गृहजिल्ला मोरङमा उनी निकट मानिएका कार्की उनी भन्दा अलग धारमा उभिएका छन् । 

कोइरालाले पार्टीको वर्तमान विवाद समाधानका लागि एकताको महाधिवेशनमा जोड दिँदै संस्थापन र इतर दुवै पक्षले अघि सारेका महाधिवेशनमा सहभागी नहुने बताइरहेका छन् । 

तर पूर्वमुख्यमन्त्री कार्की भने शेरबहादुर देउवा पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी हुने गरी मोरङका लागि केन्द्रीय प्रतिनिधि तोकिएका छन् । यहीबारे उद्घोषले कार्कीलाई सोधेको थियो ‘तपाईंले डा.शेखरको साथ छाड्नुभएको हो ?’ जवाफमा पूर्वमुख्यमन्त्री कार्कीले आफूले कसैको साथ छाडेको नभइ कांग्रेसका पक्षमा उभिएको बताए । 

‘राजनीतिक यात्रा हरेकको आ–आफ्नो हुन्छ,’ कार्कीले भने ‘त्यसैले मैले कसैको साथ छाडेको नभइ कांग्रेसको पक्षमा उभिएको हो ।’

देउवा पक्षले १५औँ महाधिवेशनका लागि कोशीका विभिन्न जिल्लामा संयोजक र केन्द्रीय प्रतिनिधि तोक्दा मोरङको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी कार्कीलाई दिएको छ । 

कार्कीले आफू देउवा पक्षले अघि सारेको महाधिवेशनमा सहभागी हुने स्पष्ट पारेका छन् । त्यसो त कांग्रेसको विशेष महाधिवेशनमा पनि कार्की सहभागी भएर उद्घाटन समारोहमा बोलेका थिए । 

आफू शेखरकै सन्देश लिएर आएको भन्दै कार्कीले विशेष महाधिवेशनमा मन्तव्य दिएका थिए । त्यसपछि भने उनले लगातार रुपमा संस्थापन विरोधी अभिव्यक्ति दिँदै आएका थिए । 

‘जहाँ अपमान हुन्छ, त्यहाँ बस्न सकिन्न,’ उनले भन्दै आएका छन् ‘लास र दास छैन भनेर आएकाहरूले लास र दास बनाउन खोजेपछि म विपक्षमा उभिएको हुँ ।’ 

कार्की लामो समयदेखि शेखर कोइराला निकट नेताका रूपमा चिनिन्थे । कोशी प्रदेश सरकारको नेतृत्व गर्दा पनि उनी कोइराला समूहसँगको राजनीतिक सम्बन्धका कारण कांग्रेसभित्र प्रभावशाली बनेका थिए । 

अहिले कांग्रेसको महाधिवेशनलाई लिएर पार्टीभित्र दुई समानान्तर प्रक्रियाको अवस्था बनेपछि कार्कीले शेखरको बाटोभन्दा फरक बाटो रोजेका हुन् । 

त्यसो त कोशीमा शेखरनिकट भनेर चिनिएका धेरै नेता अहिले गगन थापा नेतृत्वको धारमा खुलेका छन् । 

मोरङ र विराटनगर कांग्रेसको राजनीतिक इतिहास र कोइराला परिवारको विरासतसँग  जोडिएको जिल्ला हो । 

यही जिल्लाबाट कोइराला परिवारका नेताहरूले राष्ट्रिय राजनीतिमा प्रभाव बनाउँदै आएका छन् । अहिले आएर गृहजिल्लामै कोइराला एक्लिने अवस्था बनेको छ ।

View : 34

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved