Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

६ बुँदे घोषणासहित थ्री जिरो सदस्य सम्मेलन सम्पन्न

उद्घोष सम्वाददाता
६ वैशाख २०८१, बिहिवार

विराटनगर । गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन कम गर्ने अभियानअन्तरगत जीवन विकास लघुवित्त वित्तीय संस्था अन्तरगत गठन भएका थ्री जिरो क्लबहरूको प्रथम सम्मेलन ६ बुँदे घोषणासहित सम्पन्न भएको छ । 

मोरङको कटहरीस्थित जीवन विकास समाजको कार्यालयमा आयोजित सम्मेलनले युवालाई जागरुक बनाई क्लब गठनको अभियान सञ्चालन गर्ने, कार्ययोजना बनाएर स्थानीय सरकार र विभिन्न संस्थाको सहकार्य गर्ने, वातावरण संरक्षणका लागि वृक्षरोपण अभियान सञ्चालन गर्ने, अति विपन्न परिवारको आधारभूत आवश्यकता पूरा गर्न सहयोग र सहजीकरण गर्ने, नेपालमै बसेर रोजगारी सृजना गर्न पहल गर्ने, उद्यमशीलता विकासका लागि सहजीकरण गर्ने र कार्बन उत्सर्जन कम गर्नका लागि सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।

सम्मेलनले हालसम्म गठन भएका क्लवहरूमध्ये राम्रो काम गर्ने मकवानपुरको इन्भारोमेन्ट एण्ड क्लाइमेट चेन्ज थ्री जिरो क्लब, मोरङ सुनबर्षीस्थित इनभारोमेन्ट थ्री जिरो क्लब, उदयपुरको ताप्ली शाखा अन्तरगत रहेको थ्री जिरो क्लब, सर्लाहीको हरिवन इन्भारोमेन्ट एण्ड क्लाइमेट चेन्ज थ्री जिरो क्लब र सुन्दरहरंैचाको जिरो अनइम्प्लोइमेन्ट थ्री जिरो क्लबलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले गरेका हुन् । उनले गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन कम गर्नका लागि थ्री जिरो क्लबका सदस्यको भूमिका महत्वपूर्ण रहने बताए । मुख्यमन्त्री कार्कीले मानिसकै कारण अहिले वातावरणीय समस्याहरू उत्पन्न भएको बताए ।  उनले कार्बन उत्सर्जन कम गर्दै गरिबी र बेरोजगारी अन्त्यमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिनिति सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गरिबी र बेरोजगारी अन्त्यसँगै वातावरण संरक्षणका लागि युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले राजनीतिलाई सही बाटोमा ल्याउन युवाले अग्रसरता देखाउनुपर्ने बताए । 

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरिबी र बेरोजगारी अन्त्यका लागि सबैले जिम्मेवारी बोध गरेर काम गर्नुपर्ने सुझाव दिए । समाज परिवर्तनका लागि आफैबाट काम सुरु गर्न उनले आग्रह गरे । 

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलको अध्यक्षतामा आयोजित सम्मेलनको उद्घाटनका क्रममा मोरङको धनपालनाथ गाउँपालिका अध्यक्ष जिवछ गच्छदार, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे लगायतले शुभकामना दिएका थिए ।

जीवन विकास लघुवित्तले कोशी, मधेस र बाग्मती प्रदेशका २४ वटा जिल्लामा १६० वटा शाखाहरूमार्फत लघुवित्त कारोबार गर्दै आएको छ । ती जिल्लामा एक हजार ८०० वटा थ्री जिरो क्लबहरू गठन गरिएको जनाइएको छ । प्रत्येक क्लबमा पाँच जना युवा सदस्यहरू रहने गर्दछन् ।

View : 111

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved