विराटनगर । भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बिहीबारबाट नेपालको चिया उद्योग पूरै ठप्प भएको छ ।
इलामका उद्योगहरू असार १ देखि नै बन्द भएका थिए भने बिहीबारबाट झापाका ३० भन्दा बढी उद्योग र सयौं चिया बगानहरू पनि बन्द भएपछि नेपालको चिया क्षेत्र पूर्ण रूपमा ठप्प बन्न पुगेको हो । यस्तो अवस्थामा पनि सरकार भने टालटुले जवाफ दिएर पन्छिने प्रयासमा लागेको सरोकारवालाको गुनासो छ ।
नेपालमा हाल २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यसको ९८ प्रतिशत हिस्सा झापा र इलाममा छ ।
वार्षिक साढे ४ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्र इलाम र झापालाई आफ्नो मुख्य आधार मान्दछ । यहाँ उत्पादित चियाको ठूलो हिस्सा भारतीय बजारमा निर्भर छ । तर, पछिल्लो समय भारतीय टी बोर्डले लागू गरेको नयाँ प्रक्रियागत व्यवस्थाले नेपाली चिया उद्योगलाई गम्भीर संकटमा धकेलेको छ ।
भारतीय भन्सार नाका पुगेपछि चियालाई गोदाममा राख्ने, अनिवार्य नमूना परीक्षण गर्ने र परीक्षण प्रतिवेदन नआएसम्म बिक्री वा वितरण गर्न नपाउने भारतीय पक्षको कडा नीतिका कारण नेपाली चिया महिनौंदेखि गोदाममा थन्किएका छन् । यसले व्यापारिक चक्र नै भत्काइदिएको छ ।
बुधबार मात्रै प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल गरिरहेको दाबी गरेकी थिइन् ।
चिया मात्र नभई अन्य कृषिवस्तुको बजार समस्या पनि हल गर्ने उनको भनाइ थियो ।
मन्त्रीले यस्तो दाबी गरेको भोलिपल्टै झापाका उद्योग र बगानहरू बन्द हुनुले सरकारी दाबी र धरातलीय यथार्थबीचको खाडल प्रस्ट पारेको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, चिया क्षेत्रको मेरुदण्ड मानिने झापा र इलाम दुवै जिल्लामा अहिले हरियो पत्ती टिप्नेदेखि लिएर प्रशोधन र प्याकेजिङसम्मका सम्पूर्ण काम रोकिएका छन् । मजदूरहरू काममा जानबाट वञ्चित भएका छन् ।
उद्योग बन्द हुनुको प्रत्यक्ष मारमा किसान र मजदुर परेका छन् । हाल ६५ हजारभन्दा बढी मजदुरको रोजीरोटी नै संकटमा परेको छ । मुख्य सिजन चलिरहेको समयमा उद्योग बन्द हुँदा किसानहरूले हरियो पत्ती टिप्न रोकेका छन् ।
यसले गर्दा बगानमै पत्ती छिप्पिएर खेर जाने र गुणस्तर बिग्रिने खतरा बढेको छ । अहिले इलामबाट निर्यात गरिएको मात्रै २ लाख ५० हजार किलो अर्थोडक्स चिया भारतका गोदाममा रोकिएको छ ।
यसमा सिटिसी चिया जोड्दा उक्त परिमाण ३ लाख किलोभन्दा बढी पुग्छ । त्यति मात्र होइन, नेपालभित्रका गोदामहरूमा थप १० देखि १५ लाख किलो तयारी चिया बिक्री हुन नपाएर थन्किएको छ ।
चिया उद्योगका सम्पूर्ण गतिविधि ठप्प भएका बेला सरकारले भने ‘छलफल भइरहेको’ बताएर समस्यालाई देखेको नदेख्यै गरेको चिया उद्योगीहरूको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार प्रधानमन्त्री कार्यालयमा यस विषयमा विशेष छलफल भइरहेको छ । तर, के भइरहेको छ र ठोस निकास कहिले निस्कन्छ भन्नेबारे उनी स्वयं अनभिज्ञ छन् ।
यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले पनि उच्च तहमा छलफल भइरहेको दाबी गरेका छन् । तर, सरकारका तर्फबाट अहिलेसम्म कुनै पनि ठोस परिणाम आउन नसकेको उनले बताए ।
उद्योगीहरूका अनुसार समस्याको गम्भीरतालाई सरकारले जति बुझ्नुपर्ने थियो, त्यति बुझ्न सकेको छैन ।
‘उद्योग बन्द भइसकेका छन्, मजदुर भोकभोकै पर्ने अवस्था छ, तर सरकार अझै पनि पहल जारी छ भन्दै अलमलमा छ,’ एक उद्योगीले भने । ती उद्योगीका अनुसार नेपालको चिया क्षेत्र अहिले निकै गम्भीर मोडमा पुगेको छ ।
कूटनीतिक तहबाट तत्काल समाधान नखोज्ने हो भने नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान गुमाउने जोखिम बढेको उनीहरुको भनाइ छ ।
सरकारी निकायहरूको मौनता र टालटुले जवाफले गर्दा किसान र मजदुरमा निराशा छाएको छ ।
View : 65
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved