Biratnagar, Morang, Nepal
६ असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेमा अनुशासन कमजोर देखिनु दुःखद् : ओली

उद्‌घोष संवाददाता
५ असोज २०८३, सोमवार

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गरेका छन् । 

सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए ।

उनले भने, ‘म आग्रह गर्छु, विरोधीले खेल्ने यस्ता ठाउँहरू दिनुहुँदैन । स्टाटस लेख्ने, अपलोड गर्ने अनि कमेन्ट गर्ने वा गराउने स्वस्थ तरिका होइन । खुलस्त छलफल पार्टीभित्र नै हुनुपर्छ । अहिले अनुशासनमा कमजोर हाम्रै पार्टी देखिनु भनेको सारै दुःखलाग्दो कुरा हो ।’

अध्यक्ष ओलीले सरकारको असक्षमता र राज्यका साधन स्रोतको दुरुपयोग जनताले देखेको दाबी गरे । उनले सरकारले अफवाह फैलाएको आरोपसमेत लगाए ।

‘सरकारको असक्षमता, अकर्मण्यता र राज्यका साधन स्रोतहरूको दुरुपयोग आम जनताले देखेको छ । र अफवाह कसरी राज्यस्तरबाट फैलाइयो त्यो कुरा पनि देखिएको छ,’ उनले भने ।

उनले बेलिब्रिज निर्माणबारे समेत उदाहरण दिँदै सामान नआउँदै बेलिब्रिज बनेको भनेर प्रचार गरिएको दाबी गरे । उनले बागमती प्रदेश सरकारले विपद्का बेला गरेको सहयोगको भने प्रशंसा गरे । 

‘बागमती सरकारलाई धन्यवाद भन्न चाहन्छु, बरु तत्काल तुइन हालेर औषधिदेखि सबैथोक ल्याएर जनताको साथमा छौँ भनेर साथ दिए,’ उनले भने ।

बैठकमा बोल्न तीन मिनेट समय, भिडियो नखिच्न आदेश

यसैबीच, एमाले केन्द्रीय कमिटी बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि तीन मिनेट समय निर्धारण गरिएको छ । बैठकको सुरुवातमै अध्यक्ष ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई समय उपलब्ध गराइने जानकारी गराएका हुन् ।

निर्धारित समयमा बोल्न नभ्याएका विषय लिखित रूपमा दिन सकिने उनले बताए । आफूले प्रस्तुत गरेको प्रतिवेदन लामो भएकाले सदस्यहरूलाई अध्ययनका लागि सोमबारको बैठक चाँडै टुंग्याउने र मंगलबारदेखि छलफल अघि बढाउने उनको भनाइ थियो ।

अध्ययनपछि बोल्ने नेताहरूलाई विषय केन्द्रित भएर धारणा राख्न पनि ओलीले निर्देशन दिएका छन् ।

यस्तै, मंगलबारदेखि बैठकस्थलमा मोबाइल फोन नल्याउन उनले निर्देशन दिएका छन् । बैठकस्थलमा मोबाइलबाट भिडियो खिच्न, रेकर्ड गर्न तथा लाइभ गर्नसमेत नपाइने उनले बताएका छन् ।

बैठकमा आफ्नो आसन छाड्दा र बोल्दा अध्यक्षको अनुमति लिनुपर्ने निर्देशनसमेत ओलीले दिएका छन् ।

View : 47

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved