झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या जिल्लाको अन्य पालिकाको तुलनामा अत्याधिक पाइएको छ ।
मिर्गौलाका बिरामीको डायलासिस उपचारका लागि सबैभन्दा धेरै श्यया उपलब्ध गराउँदै आएको भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हाल मेचीनगरका ८५ जना बिरामीले नियमित डायलासिस सेवा लिइरहेका छन् । उक्त अस्पतालमा उपचाररत डायलासिस गराइरहेका बिरामी २२१ जना रहेका छन् ।
यसमध्ये डायलासिस गराउने मेचीनगरका बिरामीको सङ्ख्या अधिक छ ।
मिर्गौला प्रत्यारोपण गराएका ६९ जनालाई मेचीनगर नगरपालिकाले मासिक रु पाँच हजारका दरले निर्वाह भत्तासमेत दिइरहेको छ ।
अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार हाल अस्पतालमा भद्रपुर नगरपालिकाका २७ जना, विर्तामोड नगरपालिकाका १८ जना, बुद्धशान्ति गाउँपालिकाका १५ जना, अर्जुनधारा नगरपालिकाका १० जना, बाह्रदशी गाउँपालिकाका नौ जना, कनकाई नगरपालिकाका आठ जना, कचनकबल गाउँपालिकाका आठ जना, हल्दिबारी गाउँपालिकाका छ जना र कमल गाउँपालिकाका तीन जनाले नियमित डायलासिस सेवा लिइरहेका छन् ।
छिमेकी जिल्ला इलामका २२ जना, ताप्लेजुङका चार जना, पाँचथरका तीन जना, तेह्रथुमका दुई जना र सुनसरीका एक जनाले समेत अस्पतालबाट डायलासिस सेवा लिइरहेका छन् ।
अस्पतालमा डायलासिस सेवा निःशुल्क रहेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल साइरामले बताए ।
उनका अनुसार हाल २४ श्ययामा २४ वटा मेसिन राखेर बिरामीको डायलासिस सेवा प्रदान गरिरहेको र निकट भविष्यमा श्यया र मेसिन थपेर ५० पुर्याउने अस्पतालको लक्ष्य रहेको छ ।
मिर्गौलाले रगत प्रशोधन कार्य गर्न असक्षम भएपछि मेसिनको सहायताले रक्तको शुद्धीकरण गरिन्छ, जसलाई डायलासिस भन्ने गरिन्छ ।
झापामा छवटा अस्पतालमा मिर्गौलाको डायलासिस सेवा उपलब्ध छ । सबैभन्दा धेरै श्यया र मेसिन भने ओमसाई पाथीभरा अस्पतालमा रहेको छ ।
निःशुल्क डायलासिस सेवा लिनका लागि चिकित्सक र स्थानीय पालिकाबाट सिफारिस ल्याउनुपर्ने प्रावधान रहेको प्रबन्ध निर्देशक पोखरेलले बताए ।
उनले निःशुल्क सेवा लिन नेपाली नागरिकता र स्वास्थ्य बिमा बोर्डको कार्डसमेत पेस गर्नुपर्ने जानकारी दिए ।
अस्पतालमा नियमित डायलासिस गराइरहेका बिरामीहरुमा पुरुष १३९ र महिला ८२ जना रहेका छन् ।
View : 108
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved