Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मेयर कोइरालाले गरे वारुणयन्त्रको आकस्मिक अनुगमन

उद्घोष सम्वाददाता
५ वैशाख २०८१, बुधवार

विराटनगर । विराटनगरका मेयर नागेश कोइरालाले महानगरमातहतको वारुणयन्त्रको मंगलबार आकस्मिक अनुगमन गरेका छन् । विराटनगर–३ स्थित वारुणयन्त्र(दमकल)को स्टेसन पुगी मेयर कोइरालाले त्यहाँको अवस्था बुझेका छन् ।

सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको अवस्थालाई ध्यानमा राखेर मेयर कोइराला दमकलको अवस्था बुझ्न त्यहाँ पुगेका हुन् ।

सो क्रममा मेयर कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न दमकलकर्मीलाई निर्देशन दिए । 

मेयर कोइरालालाई वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालेका महानगर प्रहरीका प्रमुख राजन पौडेलले दमकलको अवस्थाका बारेमा जानकारी गराएको मेयर कोइरलाका प्रेस संयोजक मीनकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार, महानगरसित भएको तीनवटै दमकल चुस्तदुरुस्त अवस्थामा छ । 

महानगरसित ५ हजार लिटर क्षमताको दुई वटा र ३ हजार लिटर क्षमताको एउटा दमकल छ । 

जसमा ५ हजार लिटरका दुई वटा पुष्पलालचोकमा राख्ने गरिएको छ भने ३ हजार लिटरको विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको छ ।

महानगरले दमकलमा पानी भर्नका लागि केही महिनाअगाडि सन्सारीमाईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारीमाईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ ।

महानगर क्षेत्रभित्र ७–८ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइरहेको मेयर कोइरालाले जानकारी दिए ।

अनुगमनका क्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया लगायतको सहभागिता रहेको थियो ।

View : 82

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved