Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

आठौं विराट गोल्डकपको सेमिफाइनल पुरा

सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा, सांग्रीलासँग फाइनल भिडन्त

२२ चैत २०८०, बिहिवार

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफएबीचको भिडन्त तय भएको छ । 

बिहीबार राती विराटनगरको सहिद मैदानमा सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई इन्जुरी टाइममा १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलासँगको उपाधि भिडन्त पक्का गरेको हो । 

अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे । दोस्रो हाफमा मैदान छिरेका मनिष डाँगीले निकालिदिएको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टोलीलाई फाइनलमा पु¥याए ।

हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।

हारपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरुको फिनिसिङ पक्ष कमजोर भएका कारणले सेमिफाइनलमा हार व्यहोर्नु परेको बताए । 

‘निर्धारित ९० मिनेटपछि थप गरिएको ५ मिनेट मध्ये अन्तिम एक मिनेट बाँकी हुँदा लेफ्ट साइड कमजोर बन्दा गोल खानुपर्यो, त्यो हाम्रो कमजोरी पक्ष भयो’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरु सम्हालिन नसक्दाको पराजय हो ।’

जितपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएका कारणले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबावमा राख्न सफल भएको बताए । 

‘फिनिसिङ पक्ष हाम्रो सोचेजस्तो भएन’ उनले भने, ‘त्यसैले खेल लम्भिएर जितको लागि अतिरिक्त समयसम्म कुर्नुपरेको हो ।’ उनले फाइनलमा विमल घर्तीमगरलाई ल्याउने प्रयास जारी रहेको बताए ।

अन्तिम सेमिफाइनल खेलमा दुवै टिमको फिनिसिङ पक्ष कमजोर नै रह्यो । सिक्किमका खेलाडी आदर्श तामाङले खेल सुरु भएको ९ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहार बाहिरिएको थियो । 

२८ औं मिनेटमा सिक्किमका आदर्शले गरेको प्रहार बारमाथिबाट बाहिरिएको थियो । ३२ औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एन्डे«सले डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले बिफल पारिदिए । त्यसलगतै एन्डे«सले गरेको प्रहार फ्रेममा पर्न सकेन ।

पहिलो हाफको अतिरिक्त समयमा मनिष श्रेष्ठमार्फत प्राप्त भएको लामो प्रहारलाई हिसुप थपिलियाको पोष्टतर्फ पठाएपनि सिक्किम गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरे । जसका कारण पहिलो हाफमा मच्छिन्द्रले अग्रता लिने अवसर चुकाउनु पर्यो ।

५२ औं मिनेटमा मच्छिन्द्रका एन्डे«सको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८ आंै मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार सिक्किमका गोलकिपर प्रिसोले बिफल पारिदिए । 

मच्छिन्द्रका विदेशी खेलाडी ओमालाजा करिमले ८५ औं मिनेटमा डिबक्स भित्रबाट गरेको उत्कृष्ट हेडिङ बारमाथिबाट बाहिरिएको थियो ।

८९ औं मिनेटमा सिक्किमका आदर्शले डिफेन्डरलाई क्रस गरेर निकालेको बल पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिंदा गोलको अवसर चुकाउनु परेको थियो ।

विराट गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । 

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल पाउनेछन् ।

View : 199

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved