Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

‘पदोन्नति मात्र होइन, देशको आयात प्रतिस्थापन गर्ने अनुसन्धानमा जुटौं’

उद्‌घोष संवाददाता
१७ वैशाख २०८३, बिहिवार

विराटनगर । विश्वविद्यालयमा प्राध्यापनरत शिक्षकहरूले केवल पदोन्नतिका लागि मात्र नभई देश र जनतालाई प्रत्यक्ष लाभ पुग्ने अनुसन्धान कार्यमा लाग्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन्।

महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा बिहीबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै सरोकारवाला विज्ञहरूले प्राध्यापकको अनुसन्धान राष्ट्र निर्माणमा उपयोगी हुनुपर्ने धारणा राखेका हुन्।

महेन्द्र मोरङ क्याम्पसको स्नातकोत्तर व्यावसायिक तथा जनप्रशासन (एमबीएस तथा एमपीए) अनुसन्धान समितिले आयोजना गरेको सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, कीर्तिपुरका प्राध्यापक डा. अच्युत ज्ञवालीले नेपालको अर्थव्यवस्था भुक्तान असन्तुलनको जोखिमपूर्ण अवस्थामा रहेको बताए।

यसलाई सुधार गर्न प्राध्यापक वर्गले आयात प्रतिस्थापनमुखी र परिणाममुखी अनुसन्धान कार्यमा आफूलाई केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो।

प्राध्यापकहरूले गर्ने अनुसन्धान कर्मकाण्डी वा व्यक्तिगत पदोन्नतिका लागि मात्र सीमित नभई राज्यले नीति निर्माण र आर्थिक विकासमा सीधै उपयोग गर्न सक्ने खालको हुनुपर्नेमा उनले जोड दिए।

प्राध्यापक डा. ज्ञवालीले अनुसन्धानले ल्याउने परिवर्तनको ज्वलन्त उदाहरण दिँदै सिंगापुरको चर्चा गरेका थिए।

त्यहाँका प्राध्यापकहरूको गहन अनुसन्धान र सुझावका आधारमा मलेसियाबाट बगेको पानी सस्तोमा खरिद गरी प्रशोधनपश्चात् महँगो मूल्यमा बिक्री गरेर देशले ठूलो आर्थिक लाभ लिएको दृष्टान्त प्रस्तुत गर्दै उनले नेपालका प्राध्यापकहरूले पनि यस्तै नवप्रवर्तनात्मक कार्यमा लाग्नुपर्ने आवश्यकता औंल्याए।

छलफल कार्यक्रममा क्याम्पस प्रमुख डा. रामावतार शरण, सहायक क्याम्पस प्रमुखद्वय शिवनारायण चौधरी र रवि रोका, डा. उद्धव पोखरेल, डा. डिल्ली पोखरेल, डा. मोहनकुमार सुवेदी, सीताराम चम्लागाईंलगायत व्यवस्थापन संकायका विभिन्न शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा अनुसन्धान समितिका संयोजक डा जनकनाथ सापकोटाले आगामी दिनमा क्याम्पसको अनुसन्धान कार्यलाई अझ सशक्त, व्यावहारिक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

View : 312

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved