विराटनगर । दशैं लगायतका चाडपर्वमा जोगवनी केन्द्रित किनमेल घटाउन र विराटनगरमै उपभोक्ताले सहुलियत दरमा सरसामान खरिद गर्न पाउने अवसरका रुपमा आयोजना गरिएको विराट ट्रेड फेयर आज (बिहीबार)देखि सुरु हुँदैछ ।
विराट व्यापार संघको नेतृत्वमा विराटनगरको जैन भवनमा असोज ३० गतेसम्म सञ्चालन हुने ट्रेड फेयरमा १७ करोड बढीको व्यापार गर्ने लक्ष्य राखिएको छ ।
विराटनगरको व्यापार, व्यवसाय र बजारलाई थप चलायमान बनाउने मुख्य लक्ष्यका साथ ‘चाड पर्वको उत्सव, व्यापारको महोत्सव’ नारासहित ट्रेड फेयर आयोजना गरिएको हो ।
ट्रेड फेयरमा उपभोक्ताका लागि दैनिक आवश्यक खाद्यवस्तु तथा अन्य सामग्री, औद्योगिक उत्पादन, घरेलु तथा स्थानीय उत्पादनका १३० वटा स्टल छन् ।
संघका अध्यक्ष प्रमोद जिन्दलले दशैंमा उपभोक्ताले जोगवनी जानुपर्ने कठिनाईलाई अब विराटनगरमै आवश्यक सामग्री विभिन्न अफरका साथ खरिद गर्न पाउने व्यवस्थासहित ट्रेड फेयर आयोजना गरिएको बताए ।
ट्रेड फेयरमा दुई लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए ।
प्रवेशका लागि ५० रुपैयाँको टिकट काटेपछि दैनिक रुपमा विभिन्न आकर्षक पुरस्कारसहितको ‘लक्की ड्र’ बाट बम्पर उपहार जित्न सकिने जनाइएको छ । साथै, प्रत्येक दिन साँझ चर्चित कलाकारको सांगीतिक प्रस्तुती पनि रहने जनाइएको छ ।
View : 33
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved