Biratnagar, Morang, Nepal
३१ साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

अरनिकोका पूर्वविद्यार्थी प्राडा विवेक बराल केयूको उपकुलपतिमा नियुक्त

उद्‌घोष संवाददाता
३० साउन २०८३, शनिवार

Advertisement

विराटनगर । अरनिको विद्यालय, विराटनगरका विद्यार्थी प्राडा विवेक बराल काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदमा नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीबाट सिफारिस समितिको सिफारिसका आधारमा उनलाई सो सर्वोच्च कार्यकारी पदमा नियुक्त गरिएको हो।

उनको यस ऐतिहासिक नियुक्तिसँगै सम्पूर्ण अरनिको आवासीय मावि विराटनगर परिवार गौरवान्वित भएको विद्यालयका सञ्चालक भरत दाहालले जानकारी दिएका छन् ।

प्राडा बराल काठमाडौं विश्वविद्यालयकै उत्पादन भएर सोही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुन् ।

उनले काठमाडौं विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक पूरा गरेका थिए भने त्यसपश्चात जापानको प्रतिष्ठित टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि  हासिल गरेका छन् ।

 

इन्धन, ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषणजस्ता महत्त्वपूर्ण क्षेत्रका विज्ञ मानिने डा बरालले लामो समयदेखि प्राध्यापन तथा अनुसन्धान क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका छन् ।

थर्मल इन्जिनियरिङ र पर्यावरणमैत्री प्रविधिहरूको विकासमा ख्याति कमाएका उनी यसअघि केयूको मेकानिकल इन्जिनियरिङ विभागमा प्राध्यापक थिए।

 

उनको उच्च प्रशासनिक तथा प्राज्ञिक अनुभवले विश्वविद्यालयलाई आगामी दिनमा नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

कलेजमा प्राध्यापन गर्दै आएका योगेश राजभण्डारीका अनुसार प्राडा विवेक बराल विराटनगरस्थित ऐतिहासिक सरस्वती माविका पूर्वप्रधानाध्यापक विष्णु बरालका सुपुत्र हुन् ।

 

"अरनिको विद्यालयका पूर्वविद्यार्थीले देशको एक प्रतिष्ठित विश्वविद्यालयको नेतृत्व सम्हाल्नु सम्पूर्ण विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ।

 

अरनिको परिवारले नवनियुक्त उपकुलपति प्राडा विवेक बरालज्यूको कार्यकाल पूर्णरूपमा सफल हुने कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु" भनेर फेसबुकबाट समेत सञ्चालक दाहालले बधाई दिएका छन् ।

View : 256

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved