Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

भुजेल संस्कारमा एकरुपता गरिंदै

उद्‌घोष संवाददाता
४ जेठ २०८३, सोमवार

विराटनगर । भुजेल जातिले स्वदेश तथा विदेशका विभिन्न भूगोलमा बसोबास गर्दै आएका भुजेल समुदायको संस्कार–संस्कृतिमा एकरुपता ल्याउने भएको छ । विराटनगरमा दुइदिने राष्ट्रिय ब्राओ कार्यशाला आयोजना गरेर ब्राओ (पुरोहित) मार्फत संस्कारमा एकरुपता ल्याउने पहल गरिएको हो ।

राष्ट्रिय ब्राओ कार्यशालालाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामप्रसाद महतोले संस्कार–संस्कृति जोगाउन आफैंबाट सुरुआत गर्नुपर्ने धारणा व्यक्त गरे । 

सबै जातजातिको भाषा, लिपि, संस्कार–संस्कृति जोगाउन  प्रदेश सरकारको तर्फबाट सक्दो प्रयास हुने उनले बताए ।

समाजका केन्द्रीय अध्यक्ष खेमराज भुजेलले ‘यो कार्यशाला केवल औपचारिक भेला नभइ यो पुस्तौंदेखि जीवित रहदै आएको सांस्कृतिक अस्तित्वको पुनर्जागरण अभियान भएको बताए । 

‘यो हाम्रो मौलिकता बचाउने प्रण हो । यो परम्परालाई संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्दै भावी पुस्तालाई आफ्नो पहिचानसंग जोड्ने सामुहिक संकल्प हो’ उनले भने ।

भुजेल जातिको मौलिक संस्कार, संस्कृति, परम्परा र पुरोहितीय (ब्राओ÷फोह्रो) अभ्यासलाई एकरुपता ल्याउन भुजेल समाज सेवा समिति कोशी प्रदेश समितिको आयोजनामा भुजेल संस्कार

संस्कृति केन्द्रीय एकरुपता कार्यदलको समन्वय र सहजीकरणमा “राष्ट्रिय ब्राओ कार्यशाला आयोजना गरिएको समाजका कोशी प्रदेश समितिका अध्यक्ष नारायण भुजेलले जानकारी गराए ।

भुजेल संस्कार संस्कृति केन्द्रीय एकरुपता कार्यदलको अनुभव, विचार र ज्ञानले भुजेल जातिको संशोधित संस्कार, विधि नामक पुस्तकको तयारी गरेर समाजलाई अझ व्यवस्थित, एकीकृत र जीवन्त बनाउनका लागि पहल गरिने कार्यदलका संयोजक कुलबहादुर भुजेलले बताए ।

विविध भूगोलमा बसोबास गरेका भुजेल समुदायलाई एउटै सांस्कृतिक धागोमा बाध्न भुजेल जातिको संस्कार विधि नामक पुस्तकले ऐतिहासिक उपलब्धिलाई स्थापित गर्न सकोस् भन्ने अपेक्षा राखेर प्रकाशनका लागि प्रस्ताव गरिने उनले जानकारी गराए ।

समाजका संयोजक जेपी भुजेलद्वारा सञ्चालित सो कार्यक्रममा देशका सातै प्रदेश र छिमेकी मुलुकका ब्राओ, समाजका अध्येता र अभियन्ताहरुको उपस्थिति रहेको थियो । 

सहभागीहरुलाई पाचओटा समूहमा राखेर संस्कार र संस्कृतिमा संशोधन गर्नु पर्ने ‘के हुन सक्छ’ भनेर छलफल गरेर निष्कर्ष निकाल्नसमेत लगाइएको थियो ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved