विराटनगर । मोरङ प्रहरीले ठक्कर दिएर फरार (हिट एन्ड रन) घटनामा संलग्न फरार चालकलाई सवारी साधनसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित महेन्द्र राजमार्गमा नम्बर नखुलेको सवारी साधनले पैदलयात्री सुनसरीको त्रिवेणी चोक निवासी ६० वर्षीय गोविन्द तिम्सिनालाई ठक्कर दिइ फरार भएको थियो ।
गम्भीर घाइते भएका तिम्सिनाको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बुधबार राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन कार्यालय परिसरमा लुकाइराखिएको बा २ झ २२२६ नम्बरको इसुजु गाडी फेला पारेको थियो ।
प्रहरीले सो गाडीका चालक सिराहाको सुखीपुर नगरपालिका–८ निवासी ४४ वर्षीय राम उदगार मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सवारी साधनसहित नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरी, मोरङमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
View : 30
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved