विराटनगर । धनकुटाका ४८ वर्षीय गंगाशेर राईको जटिल प्रकारको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
लामो समयदेखि टाउको दुख्ने र दृष्टिसम्बन्धी समस्या झेल्दै आएका राईको विराटनगरस्थित आर्या न्यूरो हस्पिटलमा उपचार गरिएको हो ।
अस्पतालमा गरिएको परीक्षणका क्रममा राईको मस्तिष्कमा ‘जायन्ट पिट्युटरी म्याक्रो एडेनोमा’ नामक जटिल ट्युमर रहेको पत्ता लागेको थियो ।
उक्त ट्युमर पिट्युटरी ग्रन्थिमा विकसित भई मस्तिष्कको माथिल्लो भागसम्म फैलिएको चिकित्सकहरूले जनाएका छन् ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरी ट्युमर सफलतापूर्वक निकाल्न सफल भएको हो ।
चिकित्सकका अनुसार ट्युमरको स्थान अत्यन्त संवेदनशील थियो, किनभने त्यसको माथि दृष्टि सम्बन्धी नसाहरू ‘अप्टिक नर्भ’ र ‘अप्टिक कायाज्म’ रहेका हुन्छन् । ट्युमरले ती नसाहरूलाई थिचेका कारण बिरामीको एउटा आँखामा समस्या देखिएको थियो ।
शल्यक्रियापछि राईको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । चिकित्सकका अनुसार ट्युमर हटाइएपछि गुमेको दृष्टि पनि पुनः फर्किएको छ ।
सफल उपचारपछि राईलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
एक हप्ताको उपचारपछि घर फर्कदै उनले आफूले नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् ।
‘टाउको निकै दुख्ने समस्या भएपछि यहाँ आएको थिए, सफल उपचार पाएँ । अहिले पूर्ण रूपमा निको भएको छु’, उनले भने । राईले उपचारमा संलग्न चिकित्सक तथा अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।
View : 143
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved