विराटनगर । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने अडानमा रहेका शेखर कोइराला पक्षप्रति कठोर बन्ने संकेत गर्दै मोरङ जिल्ला समितिले तत्काल सदस्यता अद्यावधिक गर्न निर्देशन जारी गरेको छ ।
जिल्ला सभापति डिगबहादुर लिम्बूले आइतबार जिल्लाको पदाधिकारी बैठकपछि अपिल जारी गरेर म्यादभित्र काम नगरे विधान अनुसार अघि बढ्ने चेतावनी दिएका छन् ।
पार्टीभित्र अहिले सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिप्रति शेरबहादुर देउवा र शेखर कोइराला पक्षले असहमति राख्दै आएका छन् ।
शेखर निकट रहेका मोरङका नेताहरूले कोइरालाले गर्नु नभनेसम्म सदस्यता अद्यावधिक नगर्ने अडान राख्दै आएका छन् । तर, कोइरालाकै गृह जिल्लामा उनकै निकट मानिने नेताहरूले नै सदस्यता अद्यावधिकमा कठोर बन्ने संकेत दिएका हुन् ।
कोइराला निकट नेताहरूको बहुमत रहेको मोरङ पदाधिकारी बैठकले जिल्लाका सबै क्षेत्रमा जिल्लाका पदाधिकारी सम्मिलित अनुगमन समिति गठन गरेको छ ।
‘केन्द्रले दिएको निर्देशन मान्दिनँ भन्ने छुट कसैलाई छैन,’ जिल्ला सचिव मोदराज घिमिरेले उद्घोषसँग भने ‘अद्यावधिक अनिवार्य गर्न गराउन भनेर सबै क्षेत्रीय समिति, पालिका र वडाहरूलाई निर्देशन भइसकेको छ । ती समितिहरूले काम गरे नगरेको अनुगमन गर्न समिति बनेको हो । अब द्रुत गतिमा अद्यावधिक हुनेछ । नगराउनेहरूबारे यही समितिले मूल्याङ्कन गरेर विधान अनुसार अघि बढ्नेछ ।’
मोरङको पदाधिकारी बैठकले शनिबार क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई निर्धारित समयभित्र सक्न ६ वटै निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै टोली गठन गर्दै ‘कहिँकतैबाट असहयोग भए विधानअनुसार कार्य गरिने’ स्पष्ट निर्णय गरेको छ ।
जिल्ला सभापति लिम्बूको अध्यक्षतामा बसेको बैठकले केन्द्रमा देखिएको विवाद समाधान गर्न शीर्ष नेतृत्वलाई संवादमार्फत एकढिक्का हुन आग्रह गर्ने, जिल्ला तहमा भने संगठनात्मक काममा कुनै ढिलाइ स्वीकार नगर्ने सन्देश दिएको हो ।
जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक सक्नुपर्ने भन्दै क्षेत्रीय समितिहरूलाई जिल्लाले दबाब बढाएको छ ।
केन्द्रले यसअघि वैशाख मसान्तसम्म सदस्यता अद्यावधिक सक्न निर्देशन दिएको थियो ।
समय अभावका कारण पुनः जेठ २१ गतेसम्मको समय थप गरिएको छ । त्यसपछि पनि ढिलाइ भइरहेकाले मोरङ कांग्रेसले यसलाई ‘पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण काम’ भन्दै तीव्रताका साथ अघि बढाउने निर्णय गरेको हो ।
जिल्ला समितिले क्षेत्रीय समिति, प्रदेश सभा समिति, पालिका समिति, वडा समिति र क्रियाशील सदस्यहरूलाई समयमै अद्यावधिक प्रक्रिया पूरा गर्न अपिल गरेको छ ।
बैठकले ६ वटै निर्वाचन क्षेत्रमा सहजीकरण र अनुगमनका लागि जिम्मेवारीसमेत तोकेको छ ।
मोरङ क्षेत्र नम्बर १ मा ललित अधिकारीको संयोजकत्वमा सीता कार्की र सोभितमाया तामाङ सदस्य छन् ।
क्षेत्र नम्बर २ मा मोदराज घिमिरे संयोजक छन् भने तारानाथ प्रसाईं, देवेन्द्र लुईटेल र अञ्जना अधिकारी सदस्य छन् । त्यसैगरी क्षेत्र नम्बर ३ मा ललितबहादुर श्रेष्ठ संयोजक तोकिएका छन् ।
भोजराज बस्नेत, अनुप योञ्जन र शकुन्तला सुवेदी सदस्य छन् । क्षेत्र नम्बर ४ मा भक्तिनाथ माझी संयोजक र भीम रिजाल, चेतराज बस्नेत तथा दुर्गा कोइराला सदस्य छन् ।
क्षेत्र नम्बर ५ मा दिलीप पोखरेलको नेतृत्वमा पङ्कज वर्मा, शत्रुघ्न रजक र मीना मुर्मू सदस्य छन् । क्षेत्र नम्बर ६ मा भुवनेश्वर मण्डल संयोजक छन् भने रञ्जु अधिकारी, सञ्जय मण्डल र मञ्जु श्रेष्ठ सदस्य छन् ।
View : 182
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved