Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

३२ वर्षको इतिहासमा प्राज्ञिक फड्को

पूर्वाञ्चल विश्वविद्यालयमा एकैपटक १५ प्राध्यापक थपिए

उद्‌घोष संवाददाता
२४ चैत २०८२, मङ्गलवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को ३२ वर्ष लामो इतिहासमा प्राज्ञिक क्षेत्रतर्फ एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ । विश्वविद्यालय सेवा आयोगले लिएको आन्तरिक प्रतियोगिताको अन्तर्वार्ताबाट विभिन्न विषयका १५ जना सह-प्राध्यापकहरू प्राध्यापक पदमा पदोन्नति भएका हुन् ।

शैक्षिक क्षेत्रमा आफ्नो विषयको उच्च विज्ञ र बुद्धिजीवीका रूपमा सम्मानित मानिने प्राध्यापक पदमा यति ठुलो सङ्ख्यामा पदोन्नति भएसँगै विश्वविद्यालयको प्राज्ञिक गरिमा थप उच्च हुने अपेक्षा गरिएको छ।

पदोन्नति हुनेहरूमा व्यवस्थापन विषयबाट डा. सन्देशदास श्रेष्ठ, डा. उत्तमकुमार रेग्मी, बालेन्दु हमाल, राजेश अग्रवाल र बोधहरि आचार्य छन् ।

यस्तै, कम्प्युटर विषयबाट डा. गोपालप्रसाद शर्मा, अजयकुमार साह, मनोजकुमार हलवाई र नरेशकुमार साह प्राध्यापक बनेका छन् भने अङ्ग्रेजी विषयबाट डा. रमाकान्त दास र डा संझना प्रधान पदोन्नति भएका छन् ।

जनसंख्या विषयबाट डा. कोमलप्रसाद दुलाल र रामप्रसाद ढकाल, तथ्याङ्कशास्त्रबाट डा.  धमेन्द्रकुमार सिंह तथा लैङ्गिक समता विषयबाट डा. कृष्णप्रसाद पाण्डे प्राध्यापक पदमा पदोन्नति भएका हुन् ।

सेवा आयोगका मुख्य अधिकृत जनकमणि तिम्सिनाद्वारा हस्ताक्षरित सूचना अनुसार नवनियुक्त अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य प्रा. सुमी लामाको नेतृत्वले चैत १९, २० र २१ गते नतिजा प्रकाशन गरी उनीहरूलाई पदोन्नतिका लागि सिफारिस गरेको हो ।

यसअघि विश्वविद्यालयमा कार्यरत १४० जना जनशक्तिमध्ये ६ जना मात्र प्राध्यापक पदमा कार्यरत थिए ।

जसमा उपकुलपति डा. विजुकुमार थपलिया, एमफिल तथा पीएचडी कार्यक्रम निर्देशक डा. जीवनकुमार ढकाल, व्यवस्थापन विषय समितिका अध्यक्ष डा.सदय हमाल, विज्ञान तथा प्रविधि संकायका डीन डा. पवनकुमार झा, मोहनबहादुर बस्नेत र राजकुमार  ठाकुर छन् ।

विश्वविद्यालयको इतिहासमा हालसम्म कूल २३ जना मात्र प्राध्यापक बन्न सफल भएका छन्, जसमा पूर्व उपकुलपति  शिरिष रिजाल र पूर्व रजिस्ट्रार सञ्जेश कोइरालाको स्वर्गाराेहण भइसकेको छ ।

पहिलो चरणमा सात जना र दोस्रो चरणमा एक जना प्राध्यापक बनेकोमा अहिले तेस्रो चरणमा एकैपटक १५ जना थपिनु विश्वविद्यालयका लागि ऐतिहासिक मोड सावित भएको छ ।

प्राज्ञिक विकासको यो क्रमसँगै चैत २२ गते ओखलढुङ्गाका टीकाराम राईले पहिलो पटक विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेका छन्। एकातिर प्राध्यापकहरूको सङ्ख्या बढ्नु र अर्कोतिर शोधकार्यबाट विद्यावारिधि गर्नेहरूको सङ्ख्या थपिनुले विश्वविद्यालयको शैक्षिक उचाइ बढेको महसुस गरिएको छ ।

यद्यपि, गणित विषयको नतिजाले भने प्राज्ञिक वृत्तमा निकै चर्चा पाएको छ। सो विषयमा एक जना मात्र उम्मेदवार रहेकाले उनी सफल हुनेमा सबै विश्वस्त रहे पनि अन्ततः नतिजामा उनी असफल देखिएपछि पूवि प्राध्यापक वर्गमा छुट्टै चिन्ता र बहस छाएको छ ।

यसरी उल्लेख्य मात्रामा प्राज्ञिक जनशक्ति तयार भएसँगै अब विश्वविद्यालयको भविष्य र यसको गुणस्तरले कस्तो मोड लिनेछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

View : 953

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved