काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा विमानले रनवे पार गर्दै बाहिर निस्किएपछि धेरै सवारीसाधनमा ठक्कर दिएको र त्यसपछि आगलागी भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
मियामी–डेड फायर रेस्क्यु प्रमुख राइड ‘रे’ जदाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विमानले ठक्कर दिएका केही सवारीभित्र मानिस फसेका थिए, जसलाई उद्धारकर्मीले बाहिर निकालेका थिए ।
दुर्घटनापछि ६० भन्दा बढी दमकल तथा उद्धार टोली परिचालन गरिएको थियो । घटनास्थलमा इन्धन चुहावट भएपछि आगो नियन्त्रणसँगै सुरक्षाको काम जारी राखिएको अधिकारीहरूले बताएका छन् ।
अमेजनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएको छ । कम्पनीले विमान अवतरणको प्रयासका क्रममा दुर्घटना भएको उल्लेख गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ । दुर्घटनामा परेको विमान ३२ वर्ष पुरानो बोइङ ७६७ रहेको र यो पोर्टो रिकोको सान जुआनबाट मियामी आएको बताइएको छ ।
संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार विमानले ९ हजार फिटभन्दा लामो रनवे ३० मा अवतरण गर्ने क्रममा रनवे पार गरेको थियो । दुर्घटनापछि रनवेमा रहेका अवरोध हटाउने काम गरिएको छ ।
रनवेमा ठूलो भग्नावशेष नभेटिए पनि विमानले बाहिरिने क्रममा नेभिगेसन उपकरणमा क्षति पु¥याएको अधिकारीहरूले जनाएका छन् । एफएए र राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन् । विमानस्थलको ग्राउन्ड स्टप हटाइएको भए पनि रनवेमा विमान अड्किएकाले सोमबारसम्म केही उडानमा ढिलाइ हुने एफएएले जनाएको छ । एएनआई
View : 46
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved