विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव– २०८१ अन्तर्गत प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ ।
बुधबार विराटनगर स्थित दिल्ली पब्लिक स्कुलको मैदानमा भएको प्रतियोगितामा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो ।
कोशी प्रदेशका १३ टोलीको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधिसँगै ट्रफी, पदक र १ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने झापाले उपविजेताको ट्रफी, पदक र ५० हजार नगद पुरस्कार पाएको छ ।
यसैगरी महिला फुटबल प्रतियोगितामा झापा, मोरङ, सुनसरी र धनकुटाको जिल्ला टोली विजयी भएका छन । बुधबार दिल्ली पब्लिक स्कुलको मैदानमा सम्पन्न पहिलो खेलमा तेह्रथुम जिल्ला टोलीलाई ६ गोलले पराजित गरी झापा विजयी भएको हो ।
त्यस्तै दोस्रो खेलमा खोटाङ विरुद्ध १ गोल गर्दै मोरङ विजयी भएको छ । तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३–० गोलले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । चौथो खेलमा ओखलढुङ्गाविरुद्ध अन्तिम समयमा गोल गर्दै धनकुटाले खेल आफ्नो पक्षमा पारेको थियो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल, महिला तथा पुरुष दौड, महिला तथा पुरुष कब्बड्डी, भेट्रान बाघचाल, महिला तथा पुरुष टेबलटेनिस, महिला तथा पुरुष बुद्धिचाल, महिला तथा पुरुष कराँते, महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतका खेलकुद प्रतियोगिता समावेश छन् ।
View : 338
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved