Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

आज हिमाल र पहाडमा होली :

'रंगसँगै स्वास्थ्यको पनि ख्याल राखौं'

उद्‌घोष संवाददाता
१८ फागुन २०८२, सोमवार

विराटनगर । रंगहरूको उल्लासमय पर्व फागु पूर्णिमा अर्थात् होलीको रौनक विराटनगरसहित तराईका सहर–बस्तीमा चुलिएको छ । होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । 

असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वले आपसी सद्भाव, मेलमिलाप र भाइचाराको सन्देश दिन्छ । तर रंगको उत्साहमा स्वास्थ्यप्रति बेवास्ता गर्दा आँखाको दृष्टि र छालामा गम्भीर तथा दीर्घकालीन असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सचेत भएर पर्व मनाउन आग्रह गरेका छन् ।

बजारमा पाइने सस्ता र गाढा रंगमा विभिन्न हानिकारक रासायनिक तत्व मिसिएको हुनसक्ने भएकाले त्यसले आँखाको संवेदनशील भाग ‘कर्निया’ मा गहिरो क्षति पु¥याउन सक्छ । नेत्ररोग विशेषज्ञ डा. सुवास पोखरेलका अनुसार होलीका बेला आँखासम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ ।

उनले भने, ‘रंगमा मिसाइने रसायन तथा सिसाका सूक्ष्म कण आँखामा परे कर्नियामा खरौंचा लाग्न सक्छ । धेरैले अन्जानमा आँखा मिच्ने गर्छन्, जसले झन् समस्या बढाउँछ । यदि आखामा रंग परेमा तुरुन्तै सफा बगिरहेको पानीले १०–१५ मिनेटसम्म राम्ररी धोइरहनुपर्छ । धमिलो देखिने, अत्यधिक रातोपन वा असह्य पोलाइ भएमा घरेलु उपचारमा अल्झिनु हुँदैन, सिधै विशेषज्ञकहाँ जानुपर्छ ।’

उनका अनुसार होली खेल्दा सुरक्षात्मक चस्मा प्रयोग गर्नु, कन्ट्याक्ट लेन्स नलगाउनु र अनुहारलाई फोहोर पानीको फोहराबाट जोगाउनु उपयुक्त हुन्छ । बालबालिका र ज्येष्ठ नागरिकमा जोखिम बढी हुने भएकाले अभिभावक थप सचेत हुनुपर्ने उनले बताए ।

होलीमा छालासम्बन्धी समस्या पनि उत्तिकै बढ्ने गरेको चिकित्सकहरू बताउँछन् । कोशी अस्पतालकी छाला रोग विशेषज्ञ डा. बिबिसा बानियाका अनुसार बजारमा पाइने कतिपय रंगमा लेड, मर्करी, क्रोमियमजस्ता घातक धातु मिसिएको हुन सक्छ । यस्ता तत्वले एलर्जी, डर्माटाइटिस, चिलाउने, फोका आउने तथा दीर्घकालीन छाला समस्या निम्त्याउन सक्छन् ।

डा. बानिया भन्छिन्, ‘रंग खेल्नुअघि शरीरमा तोरीको तेल, नरिवल तेल वा राम्रो मोइस्चराइजरको बाक्लो तह लगाउँदा रंग सिधै छालामा टाँसिदैन । अनुहार, कान, घाँटी र हातजस्ता खुला भागमा विशेष ध्यान दिनुपर्छ । 

रंग खेलिसकेपछि कडा साबुन, डिटर्जेन्ट वा स्क्रब प्रयोग गर्नु हुँदैन । यसले छालाको प्राकृतिक सुरक्षा तह बिगार्छ । बेबी आयल वा सौम्य क्लिन्जर प्रयोग गरी बिस्तारै रंग हटाउनु उपयुक्त हुन्छ ।’

पहिले नै एलर्जी, दम, एक्जिमा वा संवेदनशील छाला भएका व्यक्तिमा समस्या झन् गम्भीर हुन सक्ने भएकाले सकेसम्म प्राकृतिक वा हर्बल रंग प्रयोग गर्न उनले सुझाव दिइन् । 

छालामा जलन, दाना वा सुन्निने समस्या देखिएमा तुरुन्त उपचार लिनुपर्छ ।

विराटनगरका बजार अहिले विभिन्न रंग र अबिरले भरिएका छन् । आकर्षक प्याकेट र सस्तो मूल्यले उपभोक्तालाई लोभ्याए पनि गुणस्तर र सुरक्षा मापदण्डबारे धेरैजसो अनभिज्ञ छन् ।

चिकित्सकहरूका अनुसार अत्यधिक चम्किलो, कडा गन्ध आउने वा छुँदा खस्रो लाग्ने रंग प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ ।

विशेषज्ञहरूले सुरक्षित होलीका लागि प्राकृतिक वा हर्बल रंग मात्र प्रयोग गर्न, आँखा, नाक र मुखमा सिधै रंग नहाल्न, फोहोर पानी वा केमिकल मिसाइएको लोला प्रयोग नगर्न, साना बालबालिका, गर्भवती महिला र दीर्घरोगीप्रति विशेष संवेदनशील रहन तथा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

उत्सवको खुसी क्षणिक हुन्छ, तर स्वास्थ्यमा पर्ने असर दीर्घकालीन हुन सक्छ । त्यसैले रंगको रमाइलोसँगै स्वास्थ्य सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिन चिकित्सकहरूको सुझाव छ ।

View : 110

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved