Biratnagar, Morang, Nepal
१६ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ब्रह्मज्ञानी विश्रामालय ज्येष्ठ नागरिकहरूको सहारा

विश्रामालयमा फिजियोथेरापीका अतिरिक्त ज्येष्ठ नागरिकहरूका लागि तीर्थाटन, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने समाजसेवी तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रमहरू आयोजना गरिन्छन्। साथै, असार १५, साउन १५ र तीज लगायतका चाडपर्वहरू पनि सामूहिक रूपमा मनाउने गरिएको छ।
१५ साउन २०८३, शुक्रवार

Advertisement

नेपाल ग्रामीण विकास समाज केन्द्रद्वारा विराटनगरमा सञ्चालित ‘ब्रह्मज्ञानी विश्रामालय’ ज्येष्ठ नागरिकहरूका लागि एक भरपर्दो सहारा बनेको छ।

यहाँ विशेष गरी उपलब्ध गराइएको निःशुल्क फिजियोथेरापी सेवा अत्यन्त उपयोगी साबित भएको छ।

 

अस्पतालमै पुगेर सेवा लिनुपर्ने झन्झट, खर्च र असहजतालाई दृष्टिगत गरी संस्थाले यो सेवा उपलब्ध गराएको हो।

यसबाट वार्षिक रूपमा करिब ३,५०० ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन्।

 

विराटनगरका सेवानिवृत्त शिक्षक रामलोचन वि.सं. २०७९ साउन १२ गते राति अन्दाजी १ बजे शौचालय जाने क्रममा अचानक लड्नुभयो।

परिवारले तुरुन्तै थाहा पाई उहाँलाई अस्पताल लगेर भर्ना गरे।

 

चिकित्सकहरूले उच्च रक्तचापका कारण पक्षघात (प्यारालाइसिस) भएको र शरीरको दाहिने भागमा असर परेको बताएपछि उहाँले विराटनगरमै उपचार गराउनुभयो।

विराटनगरमा पूर्ण उपचार सम्भव नभएपछि पारिवारिक सल्लाह अनुसार उहाँ दिल्लीको मेदान्त अस्पताल गएर उपचार गराउनुभयो।

त्यहाँका चिकित्सकहरूले उहाँलाई निरन्तरको फिजियोथेरापी नै स्वास्थ्य सुधारको मुख्य आधार हुने सल्लाह दिएका थिए।

 

एक दिन बजार जाने क्रममा उहाँले यस संस्थाले सञ्चालन गरेको फिजियोथेरापी सेवा देख्नुभयो र नियमित रूपमा विश्रामालयमा आएर सेवा लिन थाल्नुभयो।

नियमित व्यायामका साथै टेन्स र अल्ट्रासाउन्ड विधिबाट उहाँको उपचार सुरु गरियो।

 

केही महिनाको नियमित फिजियोथेरापीपछि आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको उहाँ बताउनुहुन्छ।

उहाँ जस्तै धेरै ज्येष्ठ नागरिकको स्वास्थ्यमा यस सेवाबाट सुधार आएको कुरा संस्थामा कार्यरत फिजियोथेरापी विज्ञले बताउनुहुन्छ।

 

नेपाल ग्रामीण विकास समाज केन्द्र वि.सं. २०५० कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालय, मोरङमा विधिवत् दर्ता भएको गैरसरकारी संस्था हो।

स्थापनाकालदेखि नै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

संस्थाले विगतमा सीपमूलक सिलाइबुनाइ तालीम, महिला सचेतना, बालशिक्षा, प्रौढ शिक्षा तथा लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

 

हाल भने संस्थाले आफ्नै भवनमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र (ब्रह्मज्ञानी विश्रामालय) सञ्चालन गरिरहेको छ।

एउटै छानामुनि फिजियोथेरापी सेवा, पुस्तकालय, स्वास्थ्य सेवा र साप्ताहिक भजनकीर्तन लगायतका सेवाहरू उपलब्ध गराइएका छन्।

यहाँ ज्येष्ठ नागरिकहरू दैनिक आएर स्वास्थ्य परीक्षण गराउने, अनुभव आदानप्रदान गर्ने तथा सामाजिक गतिविधिमा सहभागी हुने गर्दछन्।

 

विश्रामालयमा फिजियोथेरापीका अतिरिक्त ज्येष्ठ नागरिकहरूका लागि तीर्थाटन, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने समाजसेवी तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने कार्यक्रमहरू आयोजना गरिन्छन्।

साथै, असार १५, साउन १५ र तीज लगायतका चाडपर्वहरू पनि सामूहिक रूपमा मनाउने गरिएको छ।

हाल नेपाल ग्रामीण विकास समाज केन्द्रले आफ्नै भवनमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको रूपमा ‘ब्रह्मज्ञानी विश्रामालय’ सञ्चालन गर्दै आएको छ।

 

एउटै छानामुनि यी सबै सेवा उपलब्ध गराउने ‘ब्रह्मज्ञानी विश्रामालय’  नेपालको  एक मात्र संस्था भएको संस्थाका सभापति मणिकुमार अर्यालले दाबी गर्नुभएको छ।

भविष्यमा यी सेवाहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै लैजाने उहाँको लक्ष्य छ।

उहाँको यो पवित्र सेवाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस संस्थाले ज्येष्ठ नागरिकहरूप्रति देखाएको सम्मानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

 

(लेखक भरतकुमार लुइटेल  ‘ब्रह्मज्ञानी विश्रामालय’ सँग सम्वन्धित हुन् ।)

View : 69

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved