Biratnagar, Morang, Nepal
२६ वैशाख २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष उपाध्यायद्वारा पदभार ग्रहण

उद्घोष सम्वाददाता
११ वैशाख २०८१, मङ्गलवार

विराटनगर । नेपाल– भारत उद्योग वाणिज्य संघ कोशी प्रदेश समितिको नवौँ साधारण सभाबाट अध्यक्षमा सर्वसम्मत चयन भएका मुकेश उपाध्याय भट्टराईसहित १६ सदस्यीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पदभार ग्रहण गरेका छन् ।

निवर्तमान अध्यक्ष अविनास बोहोराले नवनिर्वाचित अध्यक्ष उपाध्यायलाई सोमबार विराटनगरमा आयोजित कार्यक्रममा पदभार ग्रहण गराएका हुन् ।

उपाध्यक्ष रमेश राठी र यादव पोखरेल, महासचिव श्रवण अग्रवाल, कोषाध्यक्ष जुगलकिशोर राठी र सचिव महेश पौड्यालले पनि पदभार ग्रहण गरेका छन् ।

त्यसैगरी कार्यकारिणी सदस्यहरूमा सोमनाथ अधिकारी, सञ्जय अग्रवाल, अरुण खेतान, घनश्याम कावरा, मुकेश राठी,  श्यामसुन्दर पौड्याल, मुकेशकुमार राठी, विनोद पौड्याल, रामकृष्ण शर्मा र कुमारमणि पोखरेल तथा महिला सदस्यमा गायत्री भण्डारीले पनि पदभार ग्रहण गरेका छन् ।

निर्वाचन समितिका संयोजक अधिवक्ता विकास थापाले सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएको जानकारी गराएका थिए । नेपाल–भारत उद्योग वाणिज्य संघकी केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपालमा भारतीय लगानी भित्रिन नसकेको भन्दै लगानी बढाउनका लागि पहल जारी रहेको बताइन् । उनले त्यसका लागि सरकारले समेत सकारात्मक रुपमा प्रयास गरिरहेको जानकारी दिइन् ।

नेपालकै सबैभन्दा पुरानो आर्थिक केन्द्रका रुपमा विराटनगर रहेका कारण आर्थिक क्षेत्रको विकासमा संघको नवनिर्वाचित कोशी प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष उपाध्यायले नेपाल र भारतका उद्योगी व्यवसायीहरूको साझा समस्याको समाधान गर्ने बताए । उनले आर्थिक क्रियाकलापलाई थप गतिमा अघि बढाउनका लागि संघले आयात निर्यात क्षेत्रका समस्याबारे बहस जारी राख्ने जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघकै मधेस प्रदेश अध्यक्ष अभिषेक चौधरीलगायतले शुभकामना दिएका थिए ।

View : 110

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved