Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सहकारीको ऋण तिर्न नसकेपछि एकै परिवारका चार जनाद्धारा विषादी सेवन

उद्घोष सम्वाददाता
२३ वैशाख २०८१, आइतवार

विषादी सेवन गरेका अन्वरको समस्या बुझ्दै वडाध्यक्ष पोखरेल । तस्वीर: कमल/उद्घोष

विराटनगर । सामान्य ऋण तिर्न नसकेपछि एकै परिवारका चार जनाले विषादी सेवन गरेका छन् । विराटनगर–८ अशोक चोकको एक परिवार विष सेवन गरेर चार दिनदेखि उपचाररत छ ।

मोहम्मद अन्वरले ससुरालीलाई दिन लिएको करिव ६ लाख रुपैयाँको समस्याले दुई छोरी र श्रीमानश्रीमतीले विषादी सेवन गरेका हुन् ।

साला मोहम्मद जुबेरलाई ऋण लागेपछि उनले घर भएको जमिन स्थानीय सहकारीमा धितो राखेर ऋण दिलाएका थिए । जुबेरले नियमित किस्ता र ब्याज नतिरेपछि भएको जमिन लिलामीमा जान सक्ने देखेर बिष सेवन गरी परिवारका सबै मर्न चाहेको उनले बताएका छन् ।

अन्वरका भाइ कुबेद मियाका अनुसार सहकारीबाट बुधबार दिउँसो उनलाई ऋण तिर्न फोन आएको थियो ।

उनले तनावमा आएर विरुवाको किरा मार्ने सेलक्रोन नामको विषादी खरिद गरी चिसो पेय पदार्थमा मिसाएर दुई छोरी र श्रीमतीलाई खुवाएपछि आफूले सेवन गरेका थिए ।

आफूले लिएको ऋणको तनावमा निर्दोष छोरी र श्रीमतीको ज्यान लिने उद्देश्यले विषादी खुवाउने उनी कानुनको दायरामा आएका छैनन् ।

विष सेवन गरेकाले उपचार भइरहेको बताउँदै मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले यस बारे उपचार सकिएपछि पूरा जानकारी लिइने बताए ।

सिलाइको श्रमिक काम गर्ने अन्वर आर्थिक अभावका बीच ६ जनाको परिवार चलाउँदै आएका छन् । ऋणमा डुबेको सालो जुबेरलाई छोटो अवधिका लागि सहयोग गर्न उनी तयार भएर सहकारीमा जमिन राख्न राजी भएका थिए ।

परिवारका सबै अस्पतालमा उपचारका लागि आएपछि औषधि खुवाउने समस्या आएको छ ।

वडाध्यक्ष राम पोखरेलले बाबु र एक छोरीको समस्या बढी भएकाले कोशी अस्पतालबाट निजी अस्पतालमा सारिएको जानकारी दिए ।

मकालु अस्पतालबाट छोरीलाई कोशी अस्पतालको आईसीयूमा सारिएको छ । मकालु अस्पतालको बिल तिर्न नसक्ने सो परिवारका लागि सहयोगको खोजी भइरहेको पोखरेलले बताए ।

तीन दिनको उपचार पछि आमा र एक छोरीको अवस्था सामान्य भएकाले दुबैलाई घर लगिएको छ । बाबुको मकालु अस्पताल र एक छोरीको कोशी अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ ।

View : 108

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved