हर्क साम्पाङको राजनीतिक छलाङ
विराटनगर । पार्टी स्थापनाको छोटो समयमै श्रम संस्कृति पार्टीलाई राष्ट्रिय दल बनाउने सफलता पाएका हर्क साम्पाङले सफलताको अर्को अध्याय पनि थप्ने भएका छन् ।
आफ्नो दलकी युवा सांसद रुबिकुमारी ठाकुरलाई प्रतिनिधिसभाको उपसभामुखमा अघि सारेर हर्कको दलले संसदको दोस्रो ठूलो पद हात पार्ने निश्चित भएको छ ।
धनुषाको मझेलिया गाउँकी २५ वर्षीया रुबिकुमारी ठाकुरलाई प्रतिनिधिसभा सदस्य बन्नु नै जीवनको ठूलो सरप्राइज जस्तै थियो । उनी राजनीतिक परिवारबाट आएकी होइनन्, न त कुनै पुरानो नेता वा कार्यकर्ताको छोरी । उनकी आमा रेनुदेवी अझै पनि ज्याला–मजदुरी गर्छिन् ।
बाल्यकालमा आमाले इँटाभट्टामा काम गरेर घर चलाउँथिन् । बुबा सोगरथ ठाकुर पुस्तैनी सलुनको नाइ काम गर्थे, तर परिवारको गर्जो टार्न नसकेपछि १० वर्षअघि साउदी अरब पुगेका छन् ।
परिवारले विप्रेषण र आमाको ज्यालाबाट मात्र गुजारा नचलेपछि अधियामा खेती पनि गर्न थाल्यो । दुई बिगाहा जग्गामा अधियाँ कमाएर घरको आर्थिक अवस्था सुधार्ने प्रयास गर्याे ।
यही कठोर संघर्षको वातावरणमा हुर्किएकी रुबीले भने पढाइ कहिल्यै छोडिनन् ।
उनी स्कूलमा औसतभन्दा राम्रो विद्यार्थी थिइन् । २०७४ सालमा एसईई पूरा गरेपछि उनले प्राविधिक शिक्षातर्फ पाइला अघि बढाएकी थिइन् ।
धनुषाको बलरा पोलिटेक्निकल इन्स्टिच्युटबाट सिभिल इन्जिनियरिङको तीन वर्षे डिप्लोमा कोर्स पूरा गरिन् । त्यसपछि निजी कन्सल्टेन्सीमा काम गर्दै टुडी र थ्रीडी डिजाइनको सीप हासिल गरिन् ।
उनको मासिक तलब २० हजार रुपैयाँ थियो ।
राजनीतिमा चासो नराख्ने उनले हर्क साम्पाङको ‘श्रम अभियान’, ‘श्रम जागरण’ र ‘श्रम चेतना’ ले उनलाई गहिरो प्रभाव पारेको बताउने गरेकी छन् । हर्कलाई उनी ‘आदर्श’ ठान्थिन् ।
पार्टीमा आबद्ध भएपछि समानुपातिक सूचीमा नाम समावेश भयो । गत प्रतिनिधिसभा निर्वाचनमा धनुषामा हर्क साम्पाङसँग पहिलो भेट भयो । चुनावी प्रचारका क्रममा घरदैलो गर्दै उनले पार्टीको माटो चिह्नका लागि मत मागिन् ।
मधेसवादी दलहरूको परम्परागत गढ मानिने धनुषामा कांग्रेस, एमाले, नेकपा जस्ता ठूला दलहरू बलियो थिए । त्यसमाथि रवि लामिछाने र बालेन शाहको क्रेज बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर पनि थियो । यस्तो प्रतिकूलताबीच पनि रुबीले निरन्तर मेहनत गरिन् ।
निर्वाचन परिणाम आउँदा श्रम संस्कृति पार्टी प्रत्यक्षतर्फ तीन सिट जितेर समानुपातिकतर्फ थप चार सिट हात पा¥यो । मधेसी क्लस्टरबाट रुबिकुमारीको नाम छानियो । संसद सदस्य बन्ने खबर सुन्दा उनले सञ्चारकर्मीलाई भनेकी थिइन्, ‘यो मेरो लागि सरप्राइज नै हो ।’
यसरी सांसद बन्दै गर्दा अचम्मित भएकी रुबिकुमारीलाई हर्कले उपसभामुखको रुपमा अघि सारे ।
दलहरूले उपसभामुख पदमा ‘बार्गेनिङ’ गरेको भन्दै हर्कले बिहीबार बिहान मात्रै बार्गेनिङ होइन छलफल गर्न भनेका थिए । नभन्दै सत्तारूढ रास्वपाले रुबिकुमारीलाई प्रतिनिधिसभाको उपसभामुख पदमा समर्थन गर्याे ।
बिहीबार उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गर्दा उनको उम्मेदवारीको प्रस्तावक श्रम संस्कृतिका सांसद आरेन राई रहे भने समर्थकमा रास्वपाका अशोक चौधरी लगायत छन् ।
अब उनी उपसभामुख चुनिने निश्चित जस्तै भएको छ । प्रतिपक्षी भूमिकामा रहे पनि पार्टीले श्रम, संस्कृति र जनताको दैनिक जीवनसँग जोडिएका मुद्दाहरूमा जोड दिइरहेको छ । अध्यक्ष हर्क साम्पाङको नेतृत्वले पार्टीले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिएको छ ।
हर्कको ‘भुइँको मान्छे’लाई सम्मान गर्ने शैलीले युवा र सीमान्तकृत वर्गमा आकर्षण बढाएको भन्दै सामाजिक सन्जालमा प्रशंसा भइरहेको छ ।
रुबी आफै पनि कृतज्ञ सुनिन्छिन् । भन्छिन्, ‘अध्यक्षज्यूले म जस्तो भुइँको मान्छेलाई यहासम्म पु¥याइदिनुभयो, म उहालाई भगवान नै मान्छु ।’
सत्तारुढ रास्वपाले ठूलो सिट संख्या जित्दा पनि समानुपातिकमा पूर्वका राई–लिम्बू समुदायबाट एकै जना पनि सांसद बनाएन । तर, हर्कले थोरै सिट पाउदा पनि मधेशकी युवा महिला अघि सारे ।
अवसर आउँदा उनैलाई उपसभामुखमा अघि सारेर हर्कले समावेशिताको मर्मलाई आत्मसात गरेको भन्दै सामाजिक सन्जालमा उनको प्रशंसा भइरहेको छ ।
View : 145
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved