Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

महिला उद्यम समितिको अन्तर–प्रदेश भ्रमण

उद्‌घोष संवाददाता
१८ जेठ २०८३, सोमवार

विराटनगर । मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा आयोजित अन्तर–प्रदेश भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । 

भ्रमणपश्चात् समितिकी संयोजक श्रुति शर्माले भ्रमणबाट प्राप्त अनुभव र सिकाइलाई विराटनगरमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

भ्रमण टोलीले लहान उद्योग वाणिज्य संघ, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघको अवलोकन गरेको थियो । 

भ्रमणका क्रममा विभिन्न उद्योग वाणिज्य संघमा आबद्ध महिला उद्यमीहरूसँग अन्तरक्रिया तथा अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त भएको उनले बताइन् ।

विभिन्न संघबाट नयाँ ज्ञान, सीप र सफल अभ्यासबारे जानकारी प्राप्त भएको उल्लेख गर्दै उनले ती अनुभवलाई विराटनगरमा पनि लागू गर्ने प्रयास गरिने बताइन् ।

भ्रमणका क्रममा टोलीले बागलुङ भगवती मन्दिर तथा मनकामना मन्दिरको दर्शन गर्नुका साथै गण्डकी क्षेत्रको प्राकृतिक सौन्दर्यको अवलोकन समेत गरेको थियो ।

संयोजक शर्माले भ्रमण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोली, मोरङ उद्योग व्यापार संघका पदाधिकारी तथा सचिवालयप्रति आभार व्यक्त गरेकी छन् । 

उनले संघका अध्यक्ष अनुपम राठी तथा निवर्तमान अध्यक्ष नवीन रिजालको निरन्तर प्रेरणा र सहयोगले कार्यक्रम सफल भएको बताइन् ।

यसैगरी भ्रमणका क्रममा विशेष आतिथ्यता प्रदान गर्ने रत्ननगरका मेयर प्रह्लाद सापकोटा र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेप्रति पनि उनले विशेष धन्यवाद ज्ञापन गरेकी छन् । 

शर्माले यस्ता भ्रमण तथा सहकार्यले महिला उद्यमशीलताको विकास, अनुभव आदान–प्रदान र व्यावसायिक अवसर विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

View : 219

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved