Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

भारतका तीन विश्वविद्यालयको भ्रमण गरी पूविको टोली फर्कियो

उद्‌घोष संवाददाता
११ जेठ २०८३, सोमवार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) को एक उच्चस्तरीय टोली भारतका विभिन्न तीनवटा प्रतिष्ठित विश्वविद्यालयहरूको आठदिने महत्त्वपूर्ण शैक्षिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएको छ।

विश्वविद्यालयको प्राज्ञिक, प्रशासनिक तथा आन्तरिक गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले यो भ्रमण आयोजना गरिएको हो।

भ्रमण टोलीको नेतृत्व पूर्वाञ्चल विश्वविद्यालयका डा. रमेशबाबु काफ्ले र सिनियर प्राध्यापक डा. जीवनकुमार ढकालले गरेका थिए।

टोलीमा सहपरीक्षा नियन्त्रकद्वय कविता अधिकारी र ईश्वर भण्डारी, स्वास्थ्य संकायकी प्रमुख दीप्ति सुब्बा, वित्तीय विभागका कर्मचारी प्रमुख खगेन्द्र ढकालका साथै प्रशासनिक तर्फका कर्मचारी मुख्य अधिकृत जनकमणि तिम्सिना र सुकेश कुमार कर्ण लगायत सहभागी थिए ।

 

आठदिने भ्रमणका क्रममा टोलीले भारतका तीन प्रतिष्ठित विश्वविद्यालय र त्यहाँका उच्च पदाधिकारीहरूसँग महत्त्वपूर्ण भेटघाट तथा प्राज्ञिक अनुभव आदानप्रदान गरेको छ।

भ्रमणको पहिलो चरणमा टोलीले बनारसस्थित प्रसिद्ध काशी हिन्दू विश्वविद्यालय (बीएचयू) को अवलोकन गरेको थियो।

सो क्रममा टोलीले त्यहाँका उपकुलपति प्रा. अजितकुमार चतुर्वेदी र आन्तरिक गुणस्तर सुनिश्चितता कोष (आईक्यूएसी) का निर्देशक प्रा. भास्कर  भट्टाचार्यसँग भेटघाट गर्‍यो।

 

भेटमा विश्वविद्यालयको परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जन र गुणस्तर मापदण्डका असल अभ्यासबारे गहन छलफल भएको थियो।

यसैगरी, टोलीले नयाँ दिल्लीस्थित जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयको भ्रमण गर्‍यो।

त्यहाँ टोलीले आईक्यूएसी प्रमुख रफात परविन र अन्तर्राष्ट्रिय सम्बन्ध विभागकी डिन यूके. पोप्लीसँग विशेष बैठक गर्‍यो।

बैठकमा दुई देशका विश्वविद्यालयहरूबीच प्राज्ञिक आदानप्रदान, अनुसन्धानमा सहकार्य र विद्यार्थी–प्राध्यापक साटासाट गर्ने सम्भावनाहरूमाथि छलफल भएको थियो।

 

भ्रमणको तेस्रो चरणमा टोलीले दिल्लीकै गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक संयन्त्रको अवलोकन गर्‍यो।

सो अवसरमा टोलीले त्यहाँका उपकुलपति प्रा. डा. महेश वर्मा र आईक्यूएसी निर्देशक प्रा. ए.के. सैनीसँग भेट गरी आधुनिक शिक्षण पद्धति र संस्थागत विकासका रणनीतिबारे संवाद गरेको थियो।

 

यसअघि गत वैशाख महिनामा पनि प्रशान्तकुमार लालको नेतृत्वमा पूविको टोलीले ती तीनवटा विश्वविद्यालयको भ्रमण गरेको थियो।

उक्त पहिलो भ्रमणका क्रममा शैक्षिक गुणस्तरका विषयमा गहन अन्तरक्रिया गर्नुका साथै पूर्वाञ्चल विश्वविद्यालयका गतिविधिबारे प्रस्तुतीकरण दिइएको थियो।

 

सो पहिलो भ्रमण निकै फलदायी र सफल भएपछि यसैको निरन्तरता स्वरूप यो दोस्रो उच्चस्तरीय भ्रमण आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको नेतृत्व र विभिन्न प्राज्ञिक तथा वित्तीय विभागका प्रमुखहरू सम्मिलित यस  भ्रमणबाट प्राप्त उच्चस्तरीय अनुभव, आधुनिक शिक्षण विधि र प्रशासनिक अभ्यासलाई आगामी दिनमा पूविको समग्र रूपान्तरण एवं नीतिगत सुधारमा महत्त्वपूर्ण मार्गदर्शकका रूपमा उपयोग गरिने भ्रमण टोलीले निष्कर्ष निकालेको छ।

View : 444

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved