विराटनगर । विराटनगर–३ मानगढस्थित श्री राधा कृष्ण मन्दिरले भगवान् श्रीकृष्ण जन्माष्टमीको अवसरमा आगामी भदौ २० गते ३२ औँ श्री कृष्ण रथयात्रा भव्य रूपमा आयोजना गर्ने भएको छ।
वि.सं. २०५२ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यो परम्पराअन्तर्गत यस वर्ष पनि महिनाभर विविध धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू सञ्चालन गर्न लागिएको मन्दिर व्यवस्थापनले जानकारी दिएको छ।
मन्दिरद्वारा सार्वजनिक गरिएको कार्यक्रम तालिका अनुसार शुक्रवार जनै पूर्णिमाका दिन विहान ४ देखि ८ बजेसम्म निःशुल्क जनै तथा रक्षासूत्र धारण कार्यक्रम रहनेछ।
त्यसैगरी भदौ १३ देखि १८ गतेसम्म प्रत्येक साँझ ६ देखि ९:३० बजेसम्म झूलन महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ भने भदौ १९ गते कृष्ण जन्माष्टमीका दिन दिनभर पूजा–आराधना, हरिनाम संकीर्तन र मध्यराति १२ बजे भगवानकाे महाअभिषेक, कथा तथा महाआरती गरिनेछ।
मुख्य आकर्षणका रूपमा रहेको ३२ औँ श्रीकृष्ण रथयात्रा भदौ २० गते बिहान ७:३० बजे मन्दिर प्राङ्गणबाट प्रारम्भ भई मानगढ चोक, काठ मिल, पञ्चेश्वर शिवालय, पुष्पलाल चोक, कानून क्याम्पस, भकुण्डे चोक, बुद्ध चोक, त्रिवेणी चोक, ठूलो मिल चोक, वडा कार्यालय, कञ्चनबारी, आयल निगम, कदमगाछी, औषधि व्यवस्था विभाग चोक, राजवंशी चोक, खार्जी, ढाट, मदन नगर र तालिम केन्द्र हुँदै दिउँसो १२ बजे पुनः मन्दिर प्राङ्गणमा पुगेर विश्राम हुनेछ।
रथयात्रा समापन लगत्तै विशाल भण्डाराको आयोजना गरिने रथयात्रा समितिका महासचिव केशव आचार्यले बताए ।
विराटनगरको मुख्य ऐतिहासिक रथयात्रासँगको सम्बन्धबारे स्पष्ट पार्दै आयोजक समितिले यो रथयात्रा मुख्य यात्राको विरोध नभई संवर्धन र सहयोगका लागि समर्पित रहेको प्रस्ट पारेको छ।
बिहान ७:३० देखि १२ बजेभित्रै मानगढको यात्रा सम्पन्न हुने भएकाले त्यसपछि भक्तजनहरूलाई दिउँसो सुरु हुने मुख्य रथयात्रामा सहभागी हुन प्रोत्साहन गरिएको मन्दिर व्वस्थापन समितिका सदस्य शिवराज आचार्यले बताए ।
मुख्य रथयात्राको अत्यधिक भीडभाडमा पुग्न नसक्ने ज्येष्ठ नागरिक, बालबालिका तथा असक्तजनहरूलाई आफ्नै घरआँगनमा भगवान्को दर्शन र रथको डोरी तान्ने सुअवसर प्रदान गर्न स्थानीय प्रशासनको स्वीकृतिमै कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।
रथयात्रा मूल समारोह समितिका संयोजक पशुपतिनाथ रेग्मी र पीठाधीश आचार्य रुद्र शरण जी महाराजले सम्पूर्ण सञ्चारकर्मी, स्थानीय बासिन्दा तथा धर्मानुरागी भक्तजनहरूलाई बिहान मानगढको रथयात्रामा सहभागी भई दिउँसो विराटनगरको मुख्य ऐतिहासिक रथयात्रालाई समेत सफल बनाउन हार्दिक अपिल समेत गरेका छन् ।
View : 69
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved