विराटनगर । अधिवेशनमा सभापतिको सशक्त दाबी प्रस्तुत गर्दै निर्वाचनमा होमिएकी वर्तमान प्रदेश समितिकी सभापति गोमा तामाङ (सरिन) ले भने पार्टीभित्र गुटबन्दी चलेको र आफुलाई हराउनका लागि सांसदहरू र केन्द्रीय सदस्यहरू नै लागेको आरोप लगाइन् ।
उनले आफूलाई मतदान गर्ने प्रतिनिधिहरूलाई धन्यवाद दिंदै ‘आजैबाट राजनीतिको बिट मारेको’ पनि घोषणा गरिन् ।
तामाङले आफूलाई हराउनका लागि पार्टीको माथिल्लो तहका व्यक्तिहरु प्यानल बनाएर लिष्ट बाँडिएको प्रमाण सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।
‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीयज्यू र केन्द्रीय सदस्यज्यू, धन्यवाद तपाईंहरूलाई, सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर’ उनले असन्तुष्टि पोखेकी छन्, ‘तर यो मेरो सोझो सिधापन आज दुखाई भो सबैलाई । हजुरीको राजनीतिक गर्नै जानिन कमजोरी भो मेरो ।’
उनले आफूलाई हराउनका लागि योजनावद्ध रुपमा लिष्ट बनाएर बाँडिएको दाबी गरेकी छन् ।
नेतृत्व चयन गर्ने क्रममा मोरङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेसहितका केही नेताहरूले सभापतिका उम्मेदवार राईको पक्षमा भोट मागेको सरिनको आरोप छ ।
उनले कसैले पनि निर्वाचनमा प्यानल बनाएर उम्मेदवारहरूको भोट नमाग्ने सहमतिविपरीत सांसद न्यौपानेले भोट माग्दै हिंडेको भन्दै मञ्चबाटै चेतावनी दिएकी थिइन् । तर सांसद न्यौपानेले अधिवेशनस्थलमा समूह नै बनाएर एउटा पक्षको भोट मागेको रास्वपाका कार्यकर्ताहरूले बताए ।
समूह बनाएर भोट माग्दै हिंडेको थाहा पाएपछि तामाङले पनि उनलाई अधिवेशन हलको मञ्चबाट ‘संगठन बिथोल्ने प्रयास’ भइरहेको बताएकी थिइन् ।
सरिनलाई सभापति पदका लागि निर्वाचित गराउन मतदान गरेका मोरङका एक प्रतिनिधिका अनुसार रास्वपाका महामन्त्री रहेका बालेननिकट भूपदेव शाह सक्रिय रूपमा लागेको जनाइएको छ ।
शाहकै निर्देशनमा अधिवेशनस्थलमा रहेका प्रतिनिधिहरूमाथि राईलाई नै सभापति बनाउने गरी तयार रहन भनिएको थियो ।
सरिनले भने आफूले पनि पार्टीका लागि दुःख गरेको बताइन् । कसैको काँधमा चढेर आफूले कोशीमा राजनीति नगरेको उनले जिकिर गरिन् । उनले एउटा व्यक्तिलाई जिताउने भूमिका देखिएका सांसदलाई कोशी प्रदेशमै निषेध गर्ने चेतावनीसमेत दिएकी थिइन् ।
तर बिहीबार मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा उनी पराजित भएपछि निरास बनेकी हुन् । सोही कारण उनले पार्टीबाट ‘बिट मारेको’ घोषणा गरेकी हुन् ।
यता, सरिनको यस्तो घोषणालाई सभापतिमा निर्वाचित भएका राईले भने ‘तत्कालिन आवेग’ भएको टिप्पणी गरेका छन् ।
‘राजनीतिक योगदान भएको व्यक्ति हुनुहुन्छ । पार्टी स्थापना कालदेखि नै सक्रिय रूपमा लाग्नुभएको र मेरो कार्यवाहक तथा निवर्तमान सभापतिको भूमिका निर्वाह गर्नुभएको व्यक्ति हो’ उनले भने, ‘उहाँले जे बोल्नुभएको छ, त्यो तत्कालीन आवेगका कारण पनि हुन सक्छ ।’
View : 71
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved