Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

दबाबपछि बल्ल घट्यो पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य

उद्‌घोष संवाददाता
१७ असार २०८३, बुधवार

Advertisement

काठमाडौँ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर घटेपनि नेपालमा भने मुल्य नघटाएको भन्दै आलोचना सुरु भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २०, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० ले मूल्य घटाएको छ । त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ४० र हवाई इन्धन (अन्तरराष्ट्रियतर्फ) काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले घटाइएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० कटौती गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ कायम भएको छ ।

यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो ।

यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १९४.५० र डिजेल प्रतिलिटर १९२.५० कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १९६ र डिजेलको मूल्य १९४ तोकिएको छ ।

हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ कायम भएको छ । यस्तै, अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ ।

मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब दुई हजार ०६० मा प्राप्त गर्नेछन् ।

यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६० रहेको थियो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

View : 98

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved