विराटनगर । विराटनगरका रवि गुप्ताले कुनै बेला निकै वर्षसम्म हाटबजारमा झोलामा बोकेर सामान बेचे ।
झोला बोकेर अर्काको सामान बेच्दै हिंड्ने रवि अहिले आफ्नै गार्मेन्ट उद्योग सञ्चालन गर्ने सफल युवा उद्यमी बनेका छन् ।
विराटनगर–६ मा रहेको उनको ‘आरोहण इन्टरप्राइजेज’ अहिले झण्डै अढाई करोड पुजीको उद्योगका रूपमा स्थापित भएको छ । उद्योगमा ३० भन्दा बढीले रोजगारी पाएका छन् ।
१५ वर्षअघि हाटबजारमा सामान डुलाएर बेच्ने रवि भन्छन्, “पहिले म अरूको उत्पादन बोकेर बेच्थें, अहिले मेरो उत्पादन अरूमार्फत बजार पुग्छ ।
रविको जीवनमा नया मोड त्यसै आएको होइन । व्यापारमा केही गर्नुपर्छ भन्ने उनको हुटहुटी त छदै थियो । तर, फराकिलो ज्ञान र सीप नहुदा उनलाई ल्याउने काम उद्योग संगठन मोरङले आयोजना गरेको ‘स्टार्टअप एन्ड इनोभेसन क्याम्प’ले बाटो मोडिदियो ।
आफ्नै स्वामित्वको उद्योग व्यवसाय सुरु गर्ने सोचमा रहेका उनले उक्त कार्यक्रममा सहभागी भएपछि व्यवसाय सञ्चालन, बजारीकरणको रणनीति र लगानी व्यवस्थापनबारे नया दृष्टिकोण पाए ।
केही आफ्नै उत्साह र त्यसमा स्टार्टअप एन्ड इनोभेसन क्याम्पले ऊर्जा थपेपछि उनी चङ्गा भए ।
“मेरो जीवन र व्यवसायिक यात्राको ट्रिगर पोइन्ट नै त्यो क्याम्प बन्यो,” उनी भन्छन्, “त्यही कार्यक्रमले मलाई हटियाको भीडबाट उद्योगको क्षितिजसम्म ल्यायो ।”
उनका अनुसार उक्त कार्यक्रममा प्राप्त ज्ञान र नेटवर्कले उनलाई लगानीकर्ता तथा बैंकसम्म पहुच बनाउन सहयोग गर्यो ।
त्यसपछि उनले सजिलै हिमालय बैंकबाट १० लाख रुपैया कर्जा पाए । सोही लगानीबाट उनले विराटनगर–६ मा सुरु आरोहण इन्टरप्राइजेज गार्मेन्ट अहिले निरन्तर प्रगतिको आरोहण गर्दैछ ।
रविले सुरुको वर्षमै २२ लाख रुपैयाँ बराबरको कारोबार गरे । आफ्नै उत्पादन आफै बजारीकरणमा खटिएका उनको कारोबार तेस्रो वर्षसम्म आइपुग्दा करिब डेढ करोड रुपैया पुगेको थियो ।
उनले राज्यलाई कर तिर्नसमेत सफल भएका छन् । जबकि नवप्रवर्तन उद्योगी भएकाले उनलाई आयकरमा पाच वर्षसम्म छुट छ ।
उनको उद्योगमा २५ वटा सिलाइ मेसिन सञ्चालनमा छन् भने करिब ३५ जना कामदार तथा कर्मचारी कार्यरत छन् ।
उनका अनुसार उद्योगमा काम गर्नेले मासिक ५५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । उनले उत्पादन परिमाण अर्थात् ‘पिस रेट’ का आधारमा पारिश्रमिक दिने व्यवस्था गरेका छन् ।
रविको गार्मेन्ट उद्योग निम्न तथा निम्नमध्यम आय भएका उपभोक्ता लक्षित छ । यद्यपि उनका उत्पादन भाटभटेनीजस्ता ठूला सुपरमार्केटमा बिक्री हुने गरेका छन् ।
साथै कोशी प्रदेशका प्रमुख बजारसगै मधेश प्रदेश र काठमाडौंसम्म पुग्ने गरेको उनले बताए ।
संघीय सरकारको ‘स्टार्टअप एन्ड इनोभेसन’ कार्यक्रमअन्तर्गत वार्षिक तीन प्रतिशत ब्याजदरमा सहुलियत ऋण पाउने रवि विराटनगरका पहिलो उद्यमीसमेत हुन् ।
चालु आर्थिक वर्षमा उनले २५ लाख रुपैयाँ सहुलियत ऋण प्राप्त गरेका छन् ।
उक्त योजनाका लागि विराटनगरबाट १२ जनाले आवेदन दिएकोमा उनी पहिलो नम्बरमा छनोट भएका थिए । पहिलो नम्बरमै छनोट भएकोमा खुशी लागेको छ रविले भने ।
व्यवसायिक यात्रालाई निरन्तर विस्तार गरिरहेका रवि अहिले विभिन्न उद्यमशीलता तथा उद्योग प्रवद्र्धनसम्बन्धी कार्यक्रम र सेमिनारमा सक्रिय रूपमा सहभागी हुने गरेका छन् ।
उनी आफ्नो सफलता कथा अरुलाई पनि सुनाइरहेका हुन्छन् ।
View : 391
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved