विराटनगर । पूर्वकै पहिलो ‘घर निर्माण प्रदर्शनी’ बिहीबारदेखि विराटनगरमा भव्य रुपमा सुरु हुँदैछ । उद्योग संगठन मोरङको आयोजनामा सुरु हुन लागेको प्रदर्शनीको सवै तयारी पूरा भएर उद्घाटन हुन लागेको हो ।
विराटनगरको मेनरोडस्थित जैन भवनको परिसरमा आयोजना हुने प्रदर्शनी स्थलमा स्टल निर्माण पूरा भएका छन् । सुविधा सम्पन्न डोमभित्र ७५ वटा स्टल राखिएका छन् ।
उद्योग संगठन मोरङका उपाध्यक्ष तथा प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छाका अनुसार प्रदर्शनीको मुख्य उद्देश्य घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी, प्रविधि र सामग्रीलाई एउटै छानामुनि उपलब्ध गराउनु हो ।
उनले शिथिल रहेको औद्योगिक तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन, स्वदेशी निर्माण सामग्रीको प्रवद्र्धन र सुरक्षित घर निर्माणबारे उपभोक्तामा सचेतना जगाउन प्रदर्शनीले भूमिका खेल्ने बताएका छन् ।
प्रदर्शनी स्थलबाट अवलोकनकर्ताले सिमेन्ट, फलाम (रड), विद्युत सामग्री, जिप्सम बोर्ड, आन्तरिक सजावट, होम सेक्युरिटी सिस्टम, सौर्य प्रविधिलगायतका अनेकौं प्रविधि र जानकारीहरू पाउने छन् ।
साथै सिभिल इन्जिनियर, आर्किटेक्ट र आन्तरिक सजावट लगायतका घर निर्माणसम्बन्धी प्राविधिक परामर्शसमेत उपलब्ध गराउँदै प्यानल छलफलबाट घर निर्माण क्षेत्रका जल्दाबल्दा सवालहरूमाथि विज्ञहरूको रायसमेत प्राप्त हुने जनाइएको छ ।
प्रदर्शनीले नयाँ घर निर्माण गर्न चाहनेदेखि मर्मत (रिनोभेसन) गर्न इच्छुकसम्मलाई आवश्यक प्रविधि, लागत र डिजाइनबारे जानकारी दिने उद्देश्य राखिएको जनाइएको छ ।
प्रदर्शनी अवधिभर भवन मापदण्ड, भूकम्प प्रतिरोधी संरचना, विद्युत तथा अग्नि सुरक्षा, आधुनिक डिजाइनलगायत विषयमा पनि छलफल हुनेछ ।
साथै सरकारी निकाय, प्राविधिक शिक्षालय र निजी क्षेत्रबीच सहकार्यमार्फत विद्यार्थी र व्यवसायीलाई नयाँ सिकाइको अवसर प्रदान गर्ने लक्ष्य लिइएको जनाइएको छ ।
‘सुरक्षित घर, स्मार्ट जीवन’ भन्ने मूल अवधारणालाई कार्यान्वयन गर्न प्रदर्शनी सफल हुने विश्वास लिइएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।
उनले प्रदर्शनीले निर्माण क्षेत्रसँग सम्बन्धित उद्योग, व्यवसायी र उपभोक्ताबीच सहकार्य विस्तार गर्दै आर्थिक गतिविधि चलायमान बनाउन योगदान पुर्याउने विश्वास लिइएको स्पष्ट पारे ।
प्रदर्शनीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम रहेको उनले बताए ।
View : 171
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved