Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

विराटनगर महानगरमा शिक्षाको बेरुजु उच्च

उद्‌घोष सम्वाददाता
१३ असोज २०८१, आइतवार

विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बेरुजु दर उच्च रहेको पाइएको छ ।

मोरङका १७ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा बढि शिक्षा क्षेत्रको बेरुजु महानगरपालिकाको रहेको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । 

इकाईले आइतबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा स्थानीय तहमा वित्तीय हस्तान्तरण भएका र शिक्षा विकास तथा समन्वय इकाईबाट सञ्चालन हुने कार्यक्रमहरू तर्फ महानगरको बेरुजु उच्च रहेको जनाइएको हो ।

आर्थिक वर्ष २०८१/०८२ भदौ मसान्तसम्म मोरङ जिल्लाभरीको शिक्षा क्षेत्रको बेरुजु ६ करोड ६५ लाख रहेको र त्यसमध्ये विराटनगर महानगरपालिकाको मात्रै एक करोड ३० लाख रुपैयाँ शैक्षिक बेरुजु रहेको इकाईका इन्जिनियर देवी चुडालले जानकारी दिए ।

इकाईले नेपाल शिक्षक महासंघ र शिक्षकका विभिन्न घटक संघसंगठनहरूसँग गरेको अभिमुखीकरणमा बढ्दो शैक्षिक बेरुजु हटाउनका लागि सरोकारवालाहरूले सुझाव दिएका थिए । 

इन्जिनियर चुडालले विराटनगर पछि दोस्रो धेरै बेरुजु जहदा गाउँपालिकामा रहेको बताए । उनले जहदा ७० लाख र तेस्रोमा उर्लाबारीको ४५ लाख बेरुजु रहेको जानकारी दिए । उनले सबैभन्दा कम मिक्लाजुङ गाउँपालिकाको करिव ७ लाख रुपैयाँ रहेको बताए ।

१७ वटा पालिकाहरूमा वित्तीय हस्तान्तरण भएको आर्थिक वर्ष २०७४–७५ अगाडिदेखिको बेरुजु डरलाग्दो अवस्था भएको भन्दै चिन्ता व्यक्त गरे । 

विशेषगरी भौतिक निर्माण, विज्ञान प्रयोगशाला, पुस्तकालय र आइसिटी लगायतका क्षेत्रमा लामो समयदेखि बेरुजु फर्छ्यौट हुन सकेको छैन ।

नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेल, नेपाल शिक्षक संघ मोरङका सचिव वेदुकुमार खतिवडा, नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङका सचिव बिन्दु कुमार लावती, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश सचिव बासु बराल लगायतले बेरुजु फर्छ्यौट गर्न विद्यालयहरूलाई सहजीकरण गर्नुपर्ने बताएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले लामो समयदेखि देखिएको बेरुजु फर्छ्यौट गर्न आग्रह गरेका थिए ।

मोरङ जिल्लामा ६ सय १३ सामुदायिक विद्यालय रहेका छन् ।

View : 266

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved