Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

बबरसिंह-देवकुमारी थापा गुठीद्वारा उदास र श्रेष्ठ सम्मानित

उद्‌घोष संवाददाता
५ वैशाख २०८३, शनिवार

विराटनगर । नेपाली साहित्य र सञ्चार क्षेत्रका दुई प्रभावशाली व्यक्तित्व वरिष्ठ कवि ज्ञान उदास र सञ्चारकर्मी संगीता श्रेष्ठ विराटनगरमा सम्मानित भएका छन्  । बबरसिंह–देवकुमारी थापा सेवा गुठीले शनिबार एक भव्य समारोह आयोजना गरी उनीहरूलाई नगदसहित विशेष सम्मान प्रदान गरेको हो ।

विगत ६ दशकदेखि कविता, गीत, मुक्तक र बालसाहित्यका क्षेत्रमा निरन्तर सक्रिय रहँदै नेपाली साहित्यलाई समृद्ध बनाएका वरिष्ठ स्रष्टा ज्ञान उदासलाई यस वर्षको  देवकुमारी थापा स्मृति सम्मान प्रदान गरिएको छ । उनलाई नगद ५१  हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्रले विभूषित गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर रामबहादुर थापा र गुठीका अध्यक्ष प्राध्यापक कविराज न्यौपानेले उदासको योगदान नेपाली साहित्यको दीर्घकालीन सम्पत्ति भएको उल्लेख गर्दै उनको साधना नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताए ।

त्यसैगरी, साहित्य, पत्रकारिता र चलचित्र निर्देशनमार्फत समाजका विविध पक्षलाई कलात्मक रूपमा उजागर गर्दै आएकी बहुआयामिक व्यक्तित्व संगीता श्रेष्ठलाई ‘बबरसिंह थापा स्मृति सम्मान’बाट सम्मानित गरियो । उनको योगदानको कदरस्वरूप नगद २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो । दुवै स्रष्टालाई प्रमुख अतिथि थापा, गुठीका अध्यक्ष न्यौपाने, उपाध्यक्ष मालती राई र पूजा  श्रेष्ठले सम्मान अर्पण गरेका थिए ।

समारोहमा वरिष्ठ साहित्यकारहरू खेम नेपाली, बलराम पोखरेल र प्रमोद प्रधानले नेपाली बालसाहित्य र भाषाको विकासमा स्व. देवकुमारी थापाले पुर्‍याएको ऐतिहासिक योगदानको चर्चा गरे। विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल तथा सदस्यसचिव दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छो’ले स्थानीय तहमा साहित्यिक गतिविधि र स्रष्टाको सम्मानले नगरको प्राज्ञिक गरिमा बढ्ने धारणा राखे ।

गुठीका अध्यक्ष प्रा. कविराज न्यौपानेले संस्थाले आगामी दिनमा पनि साहित्य, कला र सञ्चार क्षेत्रका विशिष्ट साधकहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको बताए । कार्यक्रममा गुठीका सचिव दिनेश श्रेष्ठ, कोषाध्यक्ष हरिमोहन श्रेष्ठ र सदस्य शोभन नेपालले बालकथाकार देवकुमारी थापाको साहित्यिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए  ।

View : 674

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved