विराटनगर । अनुमति पत्र रद्ध भइसकेको स्मार्ट टेलिकमको नेटवर्क र उपकरणमा अनाधिकृत पहुँच बनाएर अनुचित लाभ लिन खोजेको आरोपमा सर्बेश जोशी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२ खुर्सानीटार बस्ने ४५ वर्षीय जोशी पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरण जमलबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिई सञ्चालन भएको स्मार्ट टेलिकम प्रालिले लामो समयसम्म नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन २०५३ को दफा २५(५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो ।
अनुमतिपत्र खारेज भएसँगै दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १८ अनुसार कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, नेटवर्क प्रणाली र उपकरणहरू नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार त्यसपछि पनि जोशीले ती उपकरणमा अनधिकृत पहुँच कायम राख्ने, संरचनामा हस्तक्षेप गर्ने र सरकारी स्वामित्वमा गइसकेको स्रोत–साधनबाट अनुचित लाभ लिने काम गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाइएको छ ।
सरकारी हकहितमा क्षति पुर्याउने नियतसहित काम भएको आशंका गरिएको प्रहरीको भनाई छ ।
घटनामा आर्थिक अनियमितता, अवैध आम्दानी तथा तेस्रो पक्षसँगको सम्भावित संलग्नता रहेको हुनसक्ने भन्दै सीआईबी तथा अन्य निकायसँग समन्वय गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
त्यस क्रममा डिजिटल प्रमाण, बैंकिङ कारोबार र सम्पत्ति हस्तान्तरणका कागजातहरू समेत संकलन गरी विश्लेषण भइरहेको प्रहरीले जनाएको छ ।
जोशीलाई सोमबार खुर्सानीटारबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि अदालतबाट थप म्याद थप गरी अनुसन्धान अघि बढाइने तयारी गरिएको छ ।
प्रहरीले यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता भए नभएको, कम्पनीका पूर्व पदाधिकारीहरूको भूमिका, तथा सरकारी सम्पत्तिको वास्तविक अवस्था सम्बन्धमा पनि विस्तृत छानबिन भइरहेको जनाएको छ ।
View : 120
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved